सामाजिक सञ्जालमार्फत चरित्रहत्या र धम्की दिएको आरोपमा सिरहाका मनोज कुमार महतो पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्रहत्या र धम्की दिएको आरोपमा सिरहाका मनोज कुमार महतो पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार ०९:४९
सामाजिक सञ्जालमार्फत चरित्रहत्या र धम्की दिएको आरोपमा सिरहाका मनोज कुमार महतो पक्राउ

जनकपुरधाम : सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायको चरित्रहत्या गर्ने, धम्की दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्यमा संलग्न रहेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–२४ निवासी मनोज मानव भन्ने मनोज कुमार महतो रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महतोले लामो समयदेखि जिल्लाका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न व्यक्ति र समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आधारहीन तथा तथ्यहीन सामग्री प्रकाशित गर्दै आएको आरोप छ ।

प्रहरीका अनुसार उनले बिना प्रमाण विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री पोस्ट गरी सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा खलल पुर्‍याउने कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी, महतोले आफ्नो साथमा अवैध हतियार रहेको र आफू पूर्व जनमुक्ति सेनाको लडाकुसमेत भएको भन्दै धम्की दिने गरेको आरोप छ । उनले उक्त हतियारको तस्बिर पठाएर केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महतोलाई आइतबार पक्राउ गरी साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्नेसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ ।

प्रहरीले सामाजिक सञ्जालमार्फत हुने चरित्रहत्या, धम्की तथा आपराधिक गतिविधिसम्बन्धी सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराउनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार ०९:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !