दलित अधिकारसम्बन्धी विधेयकमा मधेशी दलितको हिस्सेदारी माग, अमरेश सिंहलाई सुझाव हस्तान्तरण

दलित अधिकारसम्बन्धी विधेयकमा मधेशी दलितको हिस्सेदारी माग, अमरेश सिंहलाई सुझाव हस्तान्तरण
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार १२:५६
दलित अधिकारसम्बन्धी विधेयकमा मधेशी दलितको हिस्सेदारी माग, अमरेश सिंहलाई सुझाव हस्तान्तरण

जनकपुरधाम : दलित अधिकार तथा विकाससम्बन्धी प्रस्तावित विधेयकमा मधेशी दलित समुदायको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेशी दलित नागरिक समाज तथा दलित अधिकारकर्मीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहलाई सुझाव हस्तान्तरण गरेका छन्।

नेपाल सरकारले सार्वजनिक गरेको दलित अधिकार तथा विकाससम्बन्धी विधेयकमा मधेशी दलित समुदायका अधिकार र सरोकारका विषय समेट्न माग गर्दै सुझाव हस्तान्तरण गरिएको हो। सो अवसरमा अधिकारकर्मीहरूले मधेशी दलित समुदायका सवाल संसद्मा प्रभावकारी रूपमा उठाइदिन सांसद सिंहलाई आग्रह गरेका थिए।

ADVERTISEMENT

जवाफमा सांसद सिंहले मधेशी दलित समुदायका सवाल सदनमा उठाउने प्रतिबद्धता जनाएको मधेशी दलित नागरिक समाजले जनाएको छ।

मधेशी दलित नागरिक समाज मधेश प्रदेशका अगुवा विनोद महरा, बैजनाथ पासवान, सुरेन्द्र रविदास, अजय महरा, उर्मिला कुमारी दास, प्रकाश महरालगायतले मधेशी दलित समुदायको जनसंख्याको अनुपातमा अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

संविधान संशोधन तथा नेपाल सरकारले ल्याउन लागेको दलित अधिकार तथा विकाससम्बन्धी नयाँ विधेयकका सन्दर्भमा मधेशी दलित समुदायलाई पनि अधिकारको हिस्सेदार बनाउनुपर्ने उनीहरूको माग छ।

अधिकारकर्मीहरूले प्रत्यक्ष निर्वाचन प्रणालीमा मधेशी दलित समुदायको जनसंख्याको अनुपातमा आरक्षण तथा समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। सदियौँदेखि उत्पीडनमा परेको मधेशी दलित समुदायलाई नयाँ विधेयकमा उचित हिस्सेदारी दिनुपर्ने उनीहरूको भनाइ छ।

नेपालमा दलित समुदायको जनसंख्या १३.८ प्रतिशत रहेको र मधेशी दलितको जनसंख्या ४.८ प्रतिशत रहेको उल्लेख गर्दै अधिकारकर्मीहरूले जनसंख्याका आधारमा मधेशी दलितको अधिकार सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन्।

मधेशी दलित नागरिक समाजले विधेयक निर्माण तथा संविधान संशोधनका क्रममा मधेशी दलित समुदायका सवाललाई प्राथमिकताका साथ सम्बोधन गराउन पहल गरिरहेको जनाएको छ। सांसद सिंहले सदनमा समुदायका माग उठाएर सहयोग गर्ने अपेक्षा समाजले गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार १२:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !