अमरेश सिंहले गर्ने भए मेची–महाकाली पदयात्रा

अमरेश सिंहले गर्ने भए मेची–महाकाली पदयात्रा
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार ११:३५
अमरेश सिंहले गर्ने भए मेची–महाकाली पदयात्रा

जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै सिंहले छठ पर्वको पारनको भोलिपल्ट जनकपुरधामबाट पदयात्रा सुरु गर्ने बताएका हुन्।

ADVERTISEMENT

मधेशलाई थप बुझ्न र देशका विभिन्न समुदाय तथा क्षेत्रलाई जोड्ने उद्देश्यले पदयात्रा गर्न लागेको उनले बताए।

‘सीताको जन्मभूमि जनकपुरमा छठको पारनको दिन गंगासागरमा अर्घ्य दिएर मेची–महाकाली पदयात्रा गर्छु,’ उनले भने, ‘मेरो पदयात्राको थिम समाज जोड्नु पर्छ भन्ने हो। राजनीति भनेको समाज जोड्नका लागि हो, देशको समृद्धिका लागि हो। अबको एकताको बाटो हुनुपर्छ।’

सिंहले मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइ गरी ६ वटा ‘स’ मा परिवर्तन आवश्यक रहेको बताए।

पदयात्राका क्रममा आफूले जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्ने उनले बताए। ‘पदयात्रा जनताको बीचमा गएर जनताको कुरा सुन्छु। आफैं कम बोल्छु, जनताको बढी सुन्छु,’ उनले भने, ‘त्यसक्रममा दैनिक पाँच घण्टा हिँड्छु र सात घण्टा जनताको कुरा सुन्छु।’

उनका अनुसार पदयात्रा जनकपुरधामबाट गाग्रोमा माटो र पानी लिएर सुरु हुनेछ। माघे संक्रान्तिको दिन महाकाली नदीमा जौ र तिल राखेर विसर्जन गर्ने योजना रहेको उनले बताए।

सिंहले मधेशी जनताको सहयोगबाट बनेको वर्तमान सरकारले मधेशलाई अपेक्षित प्राथमिकता नदिएको आरोपसमेत लगाए।

उनले आफूले यसअघि बालेन शाह नेतृत्वको सरकार नबने आत्मदाह गर्ने घोषणा गरेको स्मरण गर्दै अहिले सरकारलाई सशक्त बनाउन भएका कमजोरीबारे आवाज उठाइरहेको र ती कमजोरी सच्याउन खोजिरहेको बताए।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ११:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !