पत्रकारका समस्या बुझ्न जिल्लामै पुग्यो आमसञ्चार प्राधिकरण

पत्रकारका समस्या बुझ्न जिल्लामै पुग्यो आमसञ्चार प्राधिकरण
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार ७:५३
पत्रकारका समस्या बुझ्न जिल्लामै पुग्यो आमसञ्चार प्राधिकरण

जनकपुरधाम : आमसञ्चार प्राधिकरण मधेश प्रदेशले प्रदेशका विभिन्न जिल्लाका सञ्चारकर्मी तथा नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफललाई निरन्तरता दिएको छ ।

शनिबार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा र सदस्य ज्योती झासहितको टोलीले रौतहट, बारा र पर्साका पत्रकारसँग छलफल गरेको हो । छलफलमा प्राधिकरणको आगामी योजना, बजेट, कर्मचारीको अवस्था तथा स्थानीय सञ्चारमाध्यमले भोगिरहेका समस्या र प्राधिकरणसँगका अपेक्षाबारे छलफल भएको जनाइएको छ ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार रौतहटको चन्द्रनिगाहपुरमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षसहित पत्रकारसँग अन्तरक्रिया गरिएको थियो ।

त्यस्तै, पर्साको वीरगञ्जमा महासंघका जिल्ला अध्यक्ष तथा मधेश प्रदेश अध्यक्षसहितको टोलीसँग छलफल गरिएको थियो । बाराको बडहडवामा भने महासंघका सचिवलगायत पत्रकारसँग अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ ।

छलफलका क्रममा जिल्लामा सञ्चार क्षेत्रले भोग्दै आएका समस्या, स्थानीय सञ्चारमाध्यमको अवस्था, पत्रकारका आवश्यकता तथा आगामी दिनमा प्राधिकरणले सञ्चालन गर्नुपर्ने कार्यक्रमका विषयमा सुझाव संकलन गरिएको थियो ।

स्थानीय सञ्चारमाध्यमको अवस्था र पत्रकारका समस्याबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले जिल्लामा पुगेर छलफल गरिएको प्राधिकरणले जनाएको छ ।

प्रदेशका सबै जिल्लाका सञ्चारकर्मी र सञ्चार संस्थासँग प्रत्यक्ष संवाद गरी उनीहरूको आवश्यकता तथा समस्याका आधारमा आगामी योजना र कार्यक्रम तय गर्ने उद्देश्यले जिल्ला भ्रमण तथा छलफल अघि बढाइएको प्राधिकरणको भनाइ छ ।

यसअघि गत साता प्राधिकरणको टोलीले सप्तरी र सिरहाका पत्रकार तथा नेपाल पत्रकार महासंघका पदाधिकारीसँग पनि छलफल गरेको थियो ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ७:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !