साझा यातायातको रात्रिकालीन सेवा विस्तार

साझा यातायातको रात्रिकालीन सेवा विस्तार
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार ७:३७
साझा यातायातको रात्रिकालीन सेवा विस्तार

काठमाडौं : साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्दै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। संविधान दिवसको अवसर पारेर कम्पनीले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई चार गुणाले विस्तार गरेको हो।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा ७ वटा बसमार्फत रात्रिकालीन सेवा सुरु गरिएको थियो। हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विस्तार गरिएको हो।

ADVERTISEMENT

शनिबारदेखि बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन्। यससँगै यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ।

कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन्। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समयसमेत समायोजन गरिने जनाइएको छ। रिङरोड परिक्रमाको रुटमा दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुने भएकाले उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायातसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै भक्तपुर–ठमेल, बुढानीलकण्ठ–गोदावरी, विमानस्थल–नागढुंगा, ठमेल–ट्रेकल तथा कीर्तिपुर–जमललगायत रुटमा पनि यात्रुको आवश्यकताअनुसार सेवा सञ्चालन गरिनेछ।

साझा यातायातले पछिल्लो समय काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको माग बढ्दै गएको र रातिको समयमा सार्वजनिक सवारी साधनको उपलब्धता तुलनात्मक रूपमा कम रहेको अवस्थालाई ध्यानमा राखेर रात्रिकालीन सेवा विस्तार गरिएको जनाएको छ। नयाँ सेवाबाट कार्यालय, व्यवसाय तथा अन्य कामका लागि अबेरसम्म आवतजावत गर्ने यात्रु, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा रात्रीकालीन सेवामा कार्यरत नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ। विद्युतीय बस सञ्चालन भएकाले वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार ७:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !