बीपी साहद्वारा नगर अस्पताल भर्ना प्रक्रिया पारदर्शी बनाउन ध्यानाकर्षण पत्र दर्ता

बीपी साहद्वारा नगर अस्पताल भर्ना प्रक्रिया पारदर्शी बनाउन ध्यानाकर्षण पत्र दर्ता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २, शुक्रबार १८:१६
बीपी साहद्वारा नगर अस्पताल भर्ना प्रक्रिया पारदर्शी बनाउन ध्यानाकर्षण पत्र दर्ता

सबैला (धनुषा) : धनुषाको सबैला नगरपालिकाद्वारा सञ्चालन हुन गइरहेको नगर अस्पतालको कर्मचारी भर्ना तथा पदपूर्ति प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन माग गर्दै नगरपालिकामार्फत ध्यानाकर्षण गराइएको छ।

सबैला नगरपालिका–१२ निवासी सामाजिक अभियन्ता बीपी साहले शुक्रबार कर्मचारी भर्ना तथा पदपूर्ति समितिका संयोजकलाई सम्बोधन गर्दै ५ सूत्रीय मागसहितको ध्यानाकर्षण पत्र बुझाउनुभएको हो।

ADVERTISEMENT

नगर अस्पतालको सेवा प्रवाह र भर्ना प्रक्रियामा जनविश्वास कायम राख्नका लागि निष्पक्षता अपरिहार्य रहेको उल्लेख गर्दै बुझाइएको ध्यानाकर्षण पत्रमा देहायबमोजिमका सुधारका कदम चाल्न आग्रह गरिएको छ।

१. पारदर्शी प्रश्नपत्र निर्माण तथा विज्ञ छनोट: परीक्षाका लागि आवश्यक प्रश्नपत्र निर्माणकर्ता तथा विषयविज्ञहरूको छनोट प्रचलित कानुन, नियम र स्थापित विधिअनुसार पूर्णतया पारदर्शी र निष्पक्ष ढङ्गले गरिनुपर्ने।

२. सीसीटीभी निगरानी र प्रत्यक्ष प्रसारण: परीक्षा सञ्चालन हुने सम्पूर्ण कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेराबाट निगरानी तथा रेकर्डिङको व्यवस्था मिलाउनुपर्ने र सम्भव भएसम्म परीक्षाको प्रत्यक्ष प्रसारण (Live) समेत गर्नुपर्ने।

३. स्वतन्त्र परीक्षा निरीक्षकको व्यवस्था: परीक्षाको निष्पक्षतामा शङ्का उत्पन्न नहोस् भन्नका लागि निरीक्षकका रूपमा सम्बन्धित स्वास्थ्य सेवाका कर्मचारीलाई नखटाई अन्य सेवाका तटस्थ कर्मचारीहरू खटाउनुपर्ने।

४. तत्काल उत्तरपुस्तिका परीक्षण र नतिजा: परीक्षा सम्पन्न भएपश्चात् ढिलासुस्ती नगरी यथाशीघ्र उत्तरपुस्तिका परीक्षण गरी प्राप्ताङ्कसहितको नतिजा सार्वजनिक रूपमा प्रकाशन गरिनुपर्ने।

५. समावेशी सिद्धान्तको पूर्ण पालना: भर्नाका लागि हालै प्रकाशित विज्ञापनमा समावेशिताको विषय ओझेलमा परेको देखिएकाले प्रचलित कानुन र समावेशी सिद्धान्तको मर्मअनुरूप सबै वर्ग, समुदाय र समूहको समान सहभागिता सुनिश्चित गरिनुपर्ने।

स्थानीय तहमै गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याउन लागिएको नगर अस्पतालमा जनशक्ति छनोट गर्दा कुनै पनि प्रकारको अनियमितता वा पक्षपात हुन नदिन समितिले यी विषयहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने साहले ध्यानाकर्षण पत्रमा जोड दिनुभएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १८:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !