जनमत पार्टीको केन्द्रीय कार्यकारी सदस्यमा धनुषाका डा. सुरेन्द्र यादवको उम्मेदवारी

जनमत पार्टीको केन्द्रीय कार्यकारी सदस्यमा धनुषाका डा. सुरेन्द्र यादवको उम्मेदवारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १, बिहीबार २३:११
जनमत पार्टीको केन्द्रीय कार्यकारी सदस्यमा धनुषाका डा. सुरेन्द्र यादवको उम्मेदवारी

जनकपुरधाम : जनमत पार्टीको दोस्रो महाधिवेशनमा धनुषाका डा. सुरेन्द्र प्रसाद यादवले केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएका छन्।

धनुषाको शहीदनगर नगरपालिका–२ निवासी यादवले आगामी असोज १० गते वीरगञ्जमा हुने पार्टीको दोस्रो महाधिवेशनका लागि उम्मेदवारी दर्ता गराएका हुन्। बिहीबार दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको थियो।

ADVERTISEMENT

यादव गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए।

स्थानीयस्तरमा युवा समाजसेवी तथा सामाजिक अभियन्ताका रूपमा परिचित यादवले गरिब, विपन्न तथा निमुखा समुदायका समस्यामा सहयोग गर्दै आएको बताएका छन्। सामाजिक सेवाका क्रममा नागरिकका समस्या र पीडालाई नजिकबाट बुझ्ने अवसर पाएकाले ती विषयलाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाइ छ।

पार्टीमा पुस्तान्तरणको आवश्यकता औँल्याउँदै यादवले युवाको नेतृत्व र सहभागिता बढाउनुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय संगठनमा सक्षम, योग्य र शिक्षित युवालाई अवसर दिनुपर्ने उनको धारणा छ।

जेन्जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै पार्टी संगठन निर्माण तथा संगठनलाई परेको समस्यामा २४ सै घण्टा खटिने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

‘पार्टीको नीति निर्माण तहमा युवाका समस्या र मुद्दालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउनु मेरो मुख्य उद्देश्य हो,’ यादवले भने, ‘युवालाई नेतृत्वमा स्थापित गर्दै संगठनलाई थप सुदृढ बनाउने गरी काम गर्नेछु।’

आफ्नो उम्मेदवारी पार्टीभित्र युवाको भूमिका र प्रतिनिधित्व बढाउने उद्देश्यले अघि सारेको उनले बताए। आगामी महाधिवेशनबाट नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक संरचनामा युवाको सहभागिता विस्तार हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार २३:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !