जनमत पार्टीको महासचिवमा २९ वर्षीय निहाल सिंहको उम्मेदवारी घोषणा

जनमत पार्टीको महासचिवमा २९ वर्षीय निहाल सिंहको उम्मेदवारी घोषणा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३१, बुधबार १२:१४
जनमत पार्टीको महासचिवमा २९ वर्षीय निहाल सिंहको उम्मेदवारी घोषणा

जनकपुरधाम : जनमत पार्टीको दोस्रो महाधिवेशनमा सप्तरीका २९ वर्षीय निहाल सिंहले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ निवासी सिंहले आगामी असोज १० गते विरगन्जमा हुने पार्टीको दोस्रो महाधिवेशनमा महासचिव पदमा निर्वाचन लड्ने घोषणा गरेका हुन्।

ADVERTISEMENT

पार्टीमा पुस्तान्तरणको आवश्यकता रहेको भन्दै युवाको नेतृत्व र सहभागिता बढाउन आफूले उम्मेदवारी घोषणा गरेको सिंहले बताएका छन्।

उनले पार्टीको मूल संगठनमा सक्षम, योग्य र शिक्षित युवालाई अवसर दिनुपर्ने आवश्यकता रहेको बताए। जनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै आफूले संगठन निर्माणदेखि पार्टीलाई परेको समस्यामा २४ सै घण्टा खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘पार्टीको नीति निर्माण तहमा युवाका समस्या र मुद्दालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउने मेरो मुख्य उद्देश्य हो,’ सिंहले भने, ‘युवालाई नेतृत्वमा स्थापित गर्दै संगठनलाई थप सुदृढ बनाउने गरी काम गर्नेछु।’

सिंहले आफ्नो उम्मेदवारी पार्टीभित्र युवाको भूमिका र प्रतिनिधित्व बढाउने उद्देश्यले अघि सारेको बताएका छन्। आगामी महाधिवेशनबाट नेतृत्व चयनसँगै पार्टीको संगठनात्मक संरचनामा युवाको सहभागिता बढाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १२:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !