कांग्रेसलाई फुटबाट जोगाउन २५ नेताको अपिल, दुवै पक्षबीच निर्णायक वार्ता गर्न आग्रह

कांग्रेसलाई फुटबाट जोगाउन २५ नेताको अपिल, दुवै पक्षबीच निर्णायक वार्ता गर्न आग्रह
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २८, आईतवार ११:५५
कांग्रेसलाई फुटबाट जोगाउन २५ नेताको अपिल, दुवै पक्षबीच निर्णायक वार्ता गर्न आग्रह

काठमाडौँ : नेपाली कांग्रेसलाई विभाजनबाट जोगाउँदै पार्टी एकता कायम गर्न २५ जना नेताले सामूहिक अपिल गरेका छन्।

शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले देश गम्भीर संकट र राजनीतिक अस्थिरताको अवस्थामा रहेको भन्दै यस्तो परिस्थितिमा कांग्रेसभित्रको एकता झनै आवश्यक रहेको बताएका हुन्।

ADVERTISEMENT

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा चयन भएपछि कांग्रेसभित्रको विवाद थप चर्किएको छ। संस्थापन पक्षले १५औँ महाधिवेशनको मिति तय गरेपछि इतर पक्षले पनि समानान्तर रूपमा महाधिवेशनको तयारी अघि बढाएसँगै पार्टी विभाजनको जोखिम बढेको नेताहरूले बताएका छन्।

संयुक्त वक्तव्यमा आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई समेत गलत दिशातर्फ धकेलिरहेको उल्लेख गर्दै विगतका विवाद र मतभेदलाई अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिइएको छ।

नेताहरूले भनेका छन्, ‘१५औँ महाधिवेशनको संघारमा हामीले विभिन्न तीतामीठा अनुभवहरू प्राप्त गरेका छौँ। ती अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेद बोकेर बस्ने होइन, पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्छ।’

उनीहरूले प्रकाशित महाधिवेशन कार्यतालिका तत्काल स्थगित गर्न, पार्टीका दुवै पक्षबीच यथाशीघ्र निर्णायक वार्ता सुरु गर्न र सबै नेताले व्यक्तिगत स्वार्थ तथा अहंकार त्यागेर पार्टीको बृहत्तर हितमा केन्द्रित हुन आग्रह गरेका छन्।

डिना उपाध्याय, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, मीन विश्वकर्मा र नैनसिंह महरसहितका नेताहरूले तत्काल संवाद अघि बढाउन अपिल गरेका हुन्।

पार्टीभित्रको विवाद सहमति र सहकार्यबाट समाधान गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र २८, आईतवार ११:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !