धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १३, शनिबार १३:४४
धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौँ : रसुवाको सदरमुकाम धुन्चेमा उद्धारको प्रतीक्षामा रहेका बाढी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।

हवाईमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प प्रयोग गर्दै अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउन थालेको हो।

ADVERTISEMENT

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका नागरिकका लागि प्रदेश सरकारले खानाको व्यवस्था गरेको छ। खाना खुवाएपछि उनीहरूलाई सवारीसाधनमार्फत महावीरसम्म पुर्‍याइनेछ।

महावीरबाट करिब एक घण्टा पैदल यात्रा गरेपछि चौगटी पुगिने र त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं ल्याइने व्यवस्था मिलाइएको मुख्यमन्त्री थापाले जानकारी दिए।

बाढी प्रभावितको उद्धार तथा आवागमनका लागि प्रदेश सरकारले निःशुल्क ४५ वटा बसको व्यवस्था गरेको छ। धुन्चेसँगै चौगटीमा पनि सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले मिलाएको जनाएको छ।

उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई यात्राका क्रममा खानपान तथा अन्य आधारभूत समस्याको सामना गर्न नपरोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको प्रदेश सरकारले जनाएको छ।

यसैबीच, प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग सफा गरी यातायात सञ्चालनमा ल्याउने प्रयाससमेत अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार १३:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !