रसुवाका घाइतेको उपचारका लागि वीर, ट्रमा र शिक्षण अस्पताल तयारी अवस्थामा

रसुवाका घाइतेको उपचारका लागि वीर, ट्रमा र शिक्षण अस्पताल तयारी अवस्थामा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १०, बुधबार १३:०४
रसुवाका घाइतेको उपचारका लागि वीर, ट्रमा र शिक्षण अस्पताल तयारी अवस्थामा

काठमाडौं : रसुवामा आएको बाढीबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपतकालीन संयन्त्र सक्रिय बनाएको छ। मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्दै घाइतेको तत्काल उपचार तथा आवश्यक परे माथिल्लो तहका अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्रालयले स्वास्थ्य आपतकालीन व्यवस्थापनका लागि आवश्यक तयारी थालेको हो। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सतर्क रहन निर्देशन दिइएको छ भने मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरसमेत सक्रिय गरिएको छ।

ADVERTISEMENT

‘बिहानदेखि नै आवश्यक काम सुरु गरिसकेका छौं। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई जानकारी गराइसकेका छौं। हाम्रो हब–स्याटेलाइट अस्पतालको नेटवर्क सक्रिय गरिएको छ,’ डा. अधिकारीले भने।

उनका अनुसार रसुवा तथा आसपासका स्वास्थ्य संस्थामा प्राथमिक उपचारसँगै बिरामीको अवस्था पहिचान गरी उपचारको प्राथमिकता निर्धारण गर्ने ‘ट्रायज’ व्यवस्था लागू गरिनेछ। स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई हब अस्पतालमा रिफर गरी थप उपचार गर्ने पूर्वनिर्धारित विपद् व्यवस्थापन योजना कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसहित काठमाडौंका प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको छ।

प्रभावित क्षेत्रबाट रिफर भएर काठमाडौं आउने बिरामीको व्यवस्थापनका लागि समेत आवश्यक तयारी गरिएको प्रवक्ता अधिकारीले बताए। स्थानीय अस्पतालमा उपचार सम्भव भए स्थानीयस्तरमै व्यवस्थापन गर्ने र गम्भीर अवस्थाका बिरामीलाई तत्काल माथिल्लो तहको अस्पतालमा पठाउने गरी समन्वय भइरहेको छ।

त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय तहका स्वास्थ्य संस्थाबीच समन्वय गरी बिरामीको अवस्था मूल्यांकनका आधारमा उपचार र रिफरको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

डा. अधिकारीका अनुसार विपद्का बेला स्वास्थ्य सेवा सञ्चालनका लागि प्रत्येक अस्पतालको आफ्नै विपद् कार्ययोजना रहेको छ। सोही योजनाअनुसार स्थानीय अस्पतालबाट उपचार सम्भव नभएका बिरामीलाई हब अस्पतालमा पठाउने र त्यहाँ गम्भीर बिरामीको उपचार गर्ने प्रणाली सक्रिय गरिएको हो।

बाढीबाट गम्भीर घाइते भई काठमाडौं आइपुगेका बिरामीको यकिन विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन। मन्त्रालयले घाइते तथा प्रभावितको विवरण संकलन र अद्यावधिक गरिरहेको जनाएको छ।

‘अहिलेसम्म आइपुगेका गम्भीर घाइतेको विवरण पूर्ण रूपमा अद्यावधिक भइसकेको छैन। थप विवरण प्राप्त भएपछि बेलुकासम्म अपडेट गर्छौं,’ प्रवक्ता अधिकारीले भने।

प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १३:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !