आन्तरिक राजस्व विभागले अद्यावधिक गर्‍यो करदाता पोर्टल, यस्ता छन् मुख्य विशेषता

आन्तरिक राजस्व विभागले अद्यावधिक गर्‍यो करदाता पोर्टल, यस्ता छन् मुख्य विशेषता
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ९, मंगलवार १५:३५
आन्तरिक राजस्व विभागले अद्यावधिक गर्‍यो करदाता पोर्टल, यस्ता छन् मुख्य विशेषता

काठमाडौं : आन्तरिक राजस्व विभागले करदाता सेवा थप प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण सार्वजनिक गरेको छ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले सोमबार विभागमा आयोजित कार्यक्रममा अद्यावधिक गरिएको करदाता पोर्टल सार्वजनिक गरेका हुन्।

ADVERTISEMENT

यसअघि सञ्चालनमा रहेको करदाता पोर्टल पुरानो प्रविधिमा आधारित भएकाले विभिन्न सेवा लिन झन्झटिलो र समय लाग्ने गरेको थियो। नयाँ संस्करणमा भने करदाताले अनलाइनबाटै विभिन्न विवरण हेर्न, रुजु गर्न तथा आवश्यक कागजात डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

महानिर्देशक भुसालका अनुसार यसअघि अन्तःशुल्क बुझाउने प्रतिष्ठानहरूले मासिक रूपमा बुझाउने अन्तःशुल्क विवरण आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने व्यवस्था थियो। नयाँ पोर्टलमा भने करदाताले स्वयं आफ्नो विवरण रुजु गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, आय विवरण डे–४ अन्तर्गत अनुसूची १० मा करदाताले आफैं विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी प्रणालीबाटै स्वतः विवरण आउने बनाइएको छ।

स्रोतमा कर कट्टी (टीडीएस) को विवरण मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था पनि नयाँ प्रणालीमा समावेश गरिएको छ। यसले कर कट्टी गरे पनि रकम दाखिला नगर्ने समस्या न्यूनीकरणमा सहयोग पुग्ने विभागको अपेक्षा छ।

‘स्रोतमा कर कट्टी भएको रकम समयमै प्रणालीमा प्रविष्ट हुनुपर्छ। अर्को महिनाको २५ गतेसम्म पनि प्रणालीमा रकम नदेखिएमा सम्बन्धित करदाताले आफ्नो रकम किन र कसले होल्ड गर्‍यो भनेर प्रश्न गर्ने ठाउँ रहन्छ,’ महानिर्देशक भुसालले भने।

नयाँ संस्करणको करदाता पोर्टलमा विदेशी लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ। यसअघि विदेशी लगानीकर्ताका लागि यस्तो सुविधा उपलब्ध थिएन।

त्यसैगरी, करदाताले प्राप्त गरेका स्थायी लेखा नम्बर, दर्ता प्रमाणपत्र, प्यान कार्ड, अन्तःशुल्क इजाजतपत्र तथा कर चुक्ता प्रमाणपत्रलगायत कागजात पोर्टलमा लगइन गरी आफैं डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागका अनुसार नयाँ पोर्टलले करसम्बन्धी सेवा लिन कार्यालयमै पुग्नुपर्ने बाध्यता घटाउँदै कर प्रशासनलाई थप डिजिटल, पारदर्शी र करदातामैत्री बनाउन सहयोग गर्नेछ।

त्यसैगरी, मूल्यअभिवृद्धि कर विवरण संसोधन सम्बन्धी सेवाको व्यवस्था गरिएको छ। महानिर्देशक भुसालकाअनुसार अब करदाताले आफूले बुझाएको भ्याटको विवरणमा त्रुटि भएमा सात दिनभित्र आफैँले संशोधन गर्न पाउनेछन्। यसअघि भ्याटको विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने र लामो समय लाग्ने बाध्यता थियो।

‘पुरानो प्रणालीमा विवरण प्रविष्ट (इन्ट्री) भइसकेपछि सच्याउन कठिन हुन्थ्यो, जसका कारण करदाताले निकै सास्ती भोग्नुपरेको थियो।

अहिले सात दिनको समय दिइएको छ, जसमा करदाताले घरमै बसेर आफ्नो विवरण रुजु गरी गल्ती सच्याउन सक्नेछन्। यसले कर कार्यालयमा हुने भीडभाड र करदाताको समय वचत गर्नेछ,’ भुसालले भने।

अद्यावधिक गरिएको करदाता पोर्टल एक महिनासम्म परिक्षण सञ्चालनमा रहने भएकालेले पोर्टलको प्रयोगमा सामान्य समस्याहरू आउन सक्ने र यसप्रति विभाग सजग रहेको उनले बताए।

विभागले २०७८ सालदेखि नै करदाता पोर्टल अद्यावधिक गर्ने भनेर काम सुरु गरेको थियो। तर, पाँच वर्षपछि बल्ल पोर्टल अद्यावधिक भएको हो।

विभागले चालू आर्थिक वर्षलाई ‘ट्याक्स जस्टिस’को वर्षको रुपमा अघि बढाइरहेको छ।

‘यो वर्ष हामीले अनुपालन (कम्प्लायन्स)लाई विशेष जोड दिने नीति लिएका छौं,’ भुसालले भने।

आन्तरिक राजस्व विभागले अनलाइनमार्फत र कार्यालयबाट दिने सेवालाई करदातामैत्री र प्रभावकारी बनाउन ध्यान दिइरहेको उनले बताए।

‘हामीले प्रत्येक महिना वान स्टेप फरवार्ड, वान स्टेप अपवार्डको नीति लिएका छौँ’, भुसालले भने।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १५:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !