बागमतीमा मुख्यमन्त्रीको विश्वासको मतमा राप्रपा सांसदलाई दुईथरी निर्देशन

बागमतीमा मुख्यमन्त्रीको विश्वासको मतमा राप्रपा सांसदलाई दुईथरी निर्देशन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १२:१६
बागमतीमा मुख्यमन्त्रीको विश्वासको मतमा राप्रपा सांसदलाई दुईथरी निर्देशन

हेटौंडा : बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेशसभाबाट लिने विश्वासको मतलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद थप चर्किएको छ।

मुख्यमन्त्री थापाको विश्वासको मतका विषयमा राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यहरूलाई फरक–फरक निर्देशनसहित ह्विप जारी गरेका छन्।

ADVERTISEMENT

यसअघि आइतबार राप्रपा बागमती प्रदेशसभा प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेकी थिइन्। उक्त ह्विप राप्रपाका प्रदेशसभा सदस्यहरूलाई पठाइएको थियो।

तर, सोही दिन राप्रपा संसदीय दलका प्रमुख सचेतकका रूपमा डम्बर तामाङको नामबाट अर्को ह्विप जारी भएको छ।

डम्बर तामाङले जारी गरेको पत्रमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न राप्रपा सांसदहरूलाई निर्देशन दिइएको छ।

एउटै विषयमा राप्रपाका दुई समूहबाट विपरीत निर्देशन जारी भएपछि बागमती प्रदेशमा पार्टीभित्रको विवाद थप सतहमा आएको छ। मुख्यमन्त्री थापाको विश्वासको मतका क्रममा राप्रपा सांसदहरूले कुन समूहको निर्देशन पालना गर्छन् भन्ने विषय चासोको बनेको छ।

पत्रमा उक्त ह्विप दलको बैठकको निर्णय तथा राप्रपा संसदीय दलको विधानअनुसार जारी गरिएको दाबी गरिएको छ ।

राप्रपा संसदीय दलका नेता उद्धव थापाले तामाङलाई सरकार गठन हुनु अगावै प्रमुख सचेतकबाट हटाएका थिए ।

यससँगै बागमती प्रदेश सभामा राप्रपाका सांसदहरूलाई एउटै विषयमा दुई समूहबाट विपरीत निर्देशन पुगेको छ ।

एक समूहले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न भनेको छ भने अर्को समूहले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेपछि अन्यौलता सिर्जना भएको छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलमा यसअघि नै मुख्यमन्त्री थापालाई समर्थन गर्ने विषयमा विवाद देखिएको थियो ।

प्रदेश संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्रीलाई समर्थन गरिएको दाबी एक पक्षले गर्दै आएको छ भने राप्रपा केन्द्रीय नेतृत्वले उक्त समर्थन पार्टीको निर्णयविपरीत भएको बताउँदै आएको छ ।

यही विवादका कारण प्रदेश सभामा राप्रपाको आधिकारिक संसदीय दलको निर्णय र ह्विप कसको मान्य हुने भन्ने प्रश्नसमेत थप पेचिलो बनेको छ ।

मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका बेला राप्रपाभित्र देखिएको दुई थरी ह्विपले प्रदेश सरकारको पक्षमा र विपक्षमा रहने सांसदहरूको समीकरणलाई थप अन्योलपूर्ण बनाएको छ ।

मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापामगरको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

मुख्यमन्त्री थापाको आफ्नै दल नेकपा एमालेले पनि अनिवार्य उपस्थितको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

थापाले विश्वासको मत पाउन प्रदेश सभाको बहुमत ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपाको २६ र एमालेको २५ गरेर ५१ जना मात्रै सांसद छन् । उपसभामुख अप्सरा चापागाईं रहेकाले उनले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत हाल्न पाउने संवैधानिक व्यवस्था छ । जस कारण मुख्यमन्त्री थापालाई प्रदेश सभाको चौथो ठूलो दल राप्रपाको साथ अनिवार्य बनेको हो ।

राप्रपा दुई समूहमा विभाजित भएकाले थापाले विश्वासकाे मत प्राप्त गर्ने प्रदेश सभा सदस्यकाे यकिन संख्यामा अझै अन्याैल छ । हाल प्रदेशसभा १०४ सदस्यीय रहेको छ  । यहाँ नेपाली कांग्रेसको ३६ सिट, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १२:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !