वन संरक्षणमा रौतहटको उत्कृष्ट प्रदर्शन, डिभिजन वन कार्यालय सम्मानित

वन संरक्षणमा रौतहटको उत्कृष्ट प्रदर्शन, डिभिजन वन कार्यालय सम्मानित
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २५, सोमबार २२:२०
वन संरक्षणमा रौतहटको उत्कृष्ट प्रदर्शन, डिभिजन वन कार्यालय सम्मानित

रौतहट : निजी वनको प्रवर्द्धन तथा संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै डिभिजन वन कार्यालय रौतहट नेपाल सरकारबाट सम्मानित भएको छ।

सामुदायिक वन दिवस–२०८३ को अवसरमा आयोजित विशेष कार्यक्रममा निजी वन प्रवर्द्धन तथा संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै डिभिजन वन कार्यालय रौतहटलाई सम्मान गरिएको हो।

ADVERTISEMENT

नेपाल सरकारका कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका कार्यालय प्रमुख वन अधिकृत मनोज ठाकुरले कार्यालयको तर्फबाट सम्मानपत्र ग्रहण गरेका थिए।

निजी वनको संरक्षण, विस्तार र दिगो व्यवस्थापनका क्षेत्रमा कार्यालयले गरेको प्रभावकारी कामको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ।

रौतहटमा निजी वनको विस्तारसँगै वृक्षरोपण, वन संरक्षण तथा अवैध वन फँडानी नियन्त्रणमा समेत डिभिजन वन कार्यालयले सक्रियता बढाउँदै आएको छ। कार्यालयको पहलमा स्थानीय तहमा निजी वन प्रवर्द्धनका गतिविधि सञ्चालन हुनुका साथै किसान तथा वनधनीलाई वन संरक्षणतर्फ प्रोत्साहित गर्ने काम भइरहेको छ।

सम्मान प्राप्त भएपछि कार्यालय प्रमुख ठाकुरले यसले वन संरक्षण तथा निजी वन प्रवर्द्धनका क्षेत्रमा थप जिम्मेवारीका साथ काम गर्ने हौसला मिलेको बताए।

उनले निजी वनको प्रवर्द्धनले वातावरण संरक्षणसँगै किसान तथा वनधनीको आयआर्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले आगामी दिनमा निजी वन विस्तार र संरक्षणलाई थप प्राथमिकताका साथ अघि बढाइने बताए।

रौतहटमा डिभिजन वन कार्यालयको सक्रियताले निजी वन संरक्षणसँगै हरियाली विस्तार, वातावरणीय सन्तुलन र स्थानीयको आर्थिक सशक्तीकरणमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार २२:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !