अन्ततः आफ्नै योजनाबाट पछि हटे ओली, कोशीमा कार्कीकै निरन्तरता

अन्ततः आफ्नै योजनाबाट पछि हटे ओली, कोशीमा कार्कीकै निरन्तरता
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २१, बिहीबार १३:३१
अन्ततः आफ्नै योजनाबाट पछि हटे ओली, कोशीमा कार्कीकै निरन्तरता

जनकपुर : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अन्ततः कोशी प्रदेशको नेतृत्व परिवर्तन गर्ने आफ्नै योजनाबाट पछि हटेका छन्। पार्टीभित्र चर्किएको असन्तुष्टि र नेतृत्व परिवर्तनलाई लिएर बढ्दो आलोचनापछि उनले हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने निर्णय गरेका हुन्।

एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच पाँच प्रदेशमा नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने समझदारी बनेको थियो। मधेस र गण्डकी प्रदेशको नेतृत्वबारे भने कुनै निर्णय भएको छैन।

ADVERTISEMENT

यस सहमतिपछि ओलीले कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई नेतृत्वमा ल्याउने तयारी गरेका थिए। तर कार्कीले राजीनामा दिन अस्वीकार गर्दै आफ्नो अडान कायम राखेपछि नेतृत्व परिवर्तनको योजना सफल हुन सकेन।

यस्तै, बागमती प्रदेशमा संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाएर भक्तपुरबाट निर्वाचित किरण थापा मगरलाई दलको नेता बनाउने तयारी पनि भएको थियो। यस विषयमा ओली निवासमा भएको छलफलको शैलीलाई लिएर समेत पार्टीभित्र आलोचना भएको बताइएको छ।

गत भदौमा भएको ‘जेन–जी’ विद्रोहपछि एमालेभित्र संगठन पुनर्गठन र नेतृत्व शैलीबारे बहस तीव्र बनेको छ। पछिल्ला निर्वाचन परिणामपछि अध्यक्ष ओलीको निर्णय प्रक्रियामाथि पनि पार्टीभित्र प्रश्न उठ्न थालेका छन्। उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताहरू समेत पहिलेजस्तो सबै निर्णयमा खुलेर समर्थन गर्ने अवस्थामा नरहेको विश्लेषण भइरहेको छ।

यही पृष्ठभूमिमा प्रदेश सरकारमा आफू निकट नेतालाई मुख्यमन्त्री बनाउने प्रयासले थप विवाद निम्त्याउने संकेत देखिएपछि ओली पछि हटेका हुन्। भक्तपुरको गुन्डुमा भएको छलफलमा उनले मुख्यमन्त्री कार्कीलाई नै कामलाई निरन्तरता दिन निर्देशन दिएका थिए।

छलफलका क्रममा ओलीले कार्कीलाई भनेका थिए, “मैले प्रदेश अध्यक्षको पनि कुरा सुनेँ, सचिवको कुरा पनि सुनेँ, तपाईंकै कुरा पनि सुनेँ। हाललाई काम गर्दै जानुस्, पछि आवश्यक परे उपयुक्त निर्णय गरौँला।”

मंगलबार ओलीले मुख्यमन्त्री कार्कीसहित प्रदेश अध्यक्ष, प्रदेश सचिव तथा अन्य नेताहरूसँग छुट्टाछुट्टै र सामूहिक छलफल गरेका थिए। प्रारम्भमा कार्कीलाई राजीनामा गराउने वा दबाब बढाउने रणनीति लिइए पनि उनी आफ्नो अडानमा कायम रहेपछि र पार्टीभित्र थप विवाद बढ्ने संकेत देखिएपछि नेतृत्व परिवर्तनको योजना स्थगित गरिएको हो।

अब कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीकै नेतृत्वमा सरकार कायम रहनेछ भने नयाँ सत्ता समीकरणअनुसार सरकार पुनर्गठन गरी नेकपालाई समेत सरकारमा सहभागी गराउने तयारी अघि बढ्ने स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २१, बिहीबार १३:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !