भिडभाड लुकाउन सिभिल अस्पतालमा फोटो–भिडियो खिच्न रोक

भिडभाड लुकाउन सिभिल अस्पतालमा फोटो–भिडियो खिच्न रोक
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २१, बिहीबार १३:२२
भिडभाड लुकाउन सिभिल अस्पतालमा फोटो–भिडियो खिच्न रोक

काठमाडौं : निजामती (सिभिल) अस्पताल प्रशासनले अस्पतालभित्रको भिडभाड, बिरामीको चाप र सेवा प्रवाहका दृश्य खिच्न कडाइ गरेको छ। अस्पताल परिसरमा फोटो तथा भिडियो खिच्न रोक लगाएपछि सञ्चारकर्मी र सेवाग्राहीले असन्तुष्टि जनाएका छन्।

बिहीबार बिहान करिब ११ बजे रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीलाई अस्पतालका सुरक्षागार्डले फोटो तथा भिडियो खिच्न नदिएको मात्र होइन, खिचिसकेका सामग्रीसमेत मेटाउन आग्रह गरेका थिए।

ADVERTISEMENT

अस्पताल परिसरमा बिरामीको चाप र सेवा व्यवस्थापनको अवस्था अभिलेखीकरण गर्न खोज्दा सुरक्षाकर्मीले हस्तक्षेप गर्दै प्रशासनको अनुमति बिना फोटो वा भिडियो खिच्न नमिल्ने बताएका थिए।

सुरक्षागार्डका अनुसार पछिल्लो समय अस्पतालका दृश्यहरू सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक रूपमा सार्वजनिक हुन थालेपछि प्रशासनले यस्तो व्यवस्था लागू गरेको हो।

‘भिडियो र फोटो सामाजिक सञ्जालमा राख्दा अस्पतालको नकारात्मक सन्देश मात्रै जाने भएकाले अनुमति बिना खिच्न नदिएको हो,’ एक सुरक्षागार्डले बताए।

सञ्चारकर्मीले आफू समाचार संकलनका लागि आएको परिचय दिएपछि पनि प्रशासनको पूर्वअनुमति आवश्यक पर्ने जानकारी दिइएको थियो। त्यसपछि प्रशासनिक भवन पुगेका सञ्चारकर्मीले सम्बन्धित अधिकारीसँग प्रतिक्रिया लिन खोजे पनि बैठकमा व्यस्त रहेको भन्दै प्रतिक्रिया उपलब्ध गराइएन।

यता उपचारका लागि आएका बिरामी तथा सेवाग्राहीले भने अस्पताल प्रशासनले अव्यवस्था र कमजोरी बाहिर नआओस् भन्ने उद्देश्यले फोटो तथा भिडियोमा रोक लगाएको आरोप लगाएका छन्।

पेटसम्बन्धी समस्याको उपचार गराउन अस्पताल पुगेका बिक्रम तामाङले अस्पतालको वास्तविक अवस्था सार्वजनिक हुन नदिन प्रशासनले कडाइ गरेको दाबी गरे।

‘भिडभाड बाहिर देखाउँदा अप्ठ्यारो पर्छ भनेर फोटो खिच्न नदिने नियम उचित होइन,’ उनले भने, ‘सरकारले आफ्नै कमजोरी लुकाउन खोजिरहेको जस्तो देखिन्छ।’

पछिल्लो समय सरकारी अस्पतालहरूमा बिरामीको अत्यधिक चाप, लामो लाइन, बेड अभाव तथा सेवा व्यवस्थापनसम्बन्धी समस्या बारम्बार सार्वजनिक हुँदै आएका छन्। यस्ता दृश्य सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाहिरिन थालेपछि केही सरकारी अस्पतालहरूले अनुमति बिना फोटो तथा भिडियो खिच्न मौखिक रूपमा रोक लगाउन थालेका छन्।

प्रकाशित मिति: २०८३ श्रावण २१, बिहीबार १३:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !