जनकपुरमा पोखरीको डिल अतिक्रमण गरेर निर्माण गरिएका घरटहरामा डोजर चल्ने

जनकपुरमा पोखरीको डिल अतिक्रमण गरेर निर्माण गरिएका घरटहरामा डोजर चल्ने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २०, बुधबार ०८:३४
जनकपुरमा पोखरीको डिल अतिक्रमण गरेर निर्माण गरिएका घरटहरामा डोजर चल्ने

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका गुठी अन्तर्गतका विभिन्न ७ वटा पोखरी तथा तिनका डिल क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरामा डोजर चल्ने भएको छ ।

अतिक्रमण गरी बनाइएका घर–टहरा गत शुक्रबारबाटै हटाउने तयारी भए पनि सुनसरी घटनाबाट सिर्जित परिस्थितिका कारण अन्तिम समयमा आएर रोकिएको थियो । आगामी साता ती अतिक्रमण खाली गराइने भएको छ ।

ADVERTISEMENT

गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले साउन १ गते सार्वजनिक सूचना जारी गर्दै जनकपुरको विशहरा पोखरी, दशरथ तलाउ, अर्गजा सर, रत्न सागर, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरी लगायत तिनका डिल क्षेत्रमा भएका अनधिकृत संरचना र अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

सूचनामा ७ दिनको म्याद तोके पनि त्यो समयभित्र अनधिकृत संरचना हटाउन कसैले चासो देखाएनन् ।

यसरी संरचना हटाउन कसैले चासो नदेखाएपछि भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ११ सदस्यीय टोली गठन गरेको थियो ।

केन्द्रीय गुठी संस्थान, प्रधान कार्यालयका गुठी प्रशासक शैलेशराज कुँवर आफैँ जनकपुर आएर अतिक्रमित पोखरी र त्यसका डिल कब्जा गरी अनधिकृत रूपले निर्माण गरिएका संरचना अवलोकन गरेका थिए ।

मन्त्रालयले गठन गरेको ११ सदस्य सम्मिलित टोलीको संयोजकमा गुठी प्रशासक शैलेशराज कुँवर, जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका जिल्ला समन्वय अधिकारी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, भूमि प्रशासन कार्यालय धनुषाका प्रमुख भूमि प्रशासन अधिकृत, नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत, गुठी संस्थान शाखा कार्यालय धनुषाका कार्यालय प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय लगायतका प्रतिनिधि सदस्य छन् ।

केन्द्रीय गुठी संस्थान तथा गठित समितिका प्रवक्ता जनक पोखरेलले गत शुक्रबारदेखि नै अतिक्रमण भएका ठाउँ खाली गराउने तयारी रहे पनि अन्तिम समयमा आएर रोक्नु परेको बताए । ‘डोजर लगायतका सामग्री तयार अवस्थामा राखेका थियौँ तर बिहीबारदेखि कर्फ्यु जारी भएकाले त्यो प्रक्रिया रोकिन पुगेको हो,’ उनले भने ।

पोखरेलका अनुसार प्रतिवेदनमा ४९ वटा पोखरीको रेखाङ्कन, नाँपजाच गर्नुपर्ने सुझाव दिइएको छ । जस अनुसार हालसम्म १३ वटाको सकिएको उनले बताए । त्यसमध्ये ७ वटा पोखरीको डिलमा निर्माण गरिएका संरचना खाली गराउन लागिएको उनको भनाइ छ ।

पोखरेलका अनुसार ७ वटा पोखरीको डिलमा कच्ची र पक्की गरी ४२ वटा घरटहरा छन् ।

समितिलाई बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरलगायत प्रमुख मठ–मन्दिर र गुठी जग्गामा भएका अतिक्रमण हटाई संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मेवारी दिइएसँगै उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२, सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग २०७६ को प्रतिवेदन तथा गुठी जग्गासम्बन्धी अन्य प्रतिवेदनमा उल्लेख भएका कार्यहरू कार्यान्वयन गर्न समेत भनिएको छ ।

समितिको कार्यक्षेत्रअनुसार मन्दिर परिसर, पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण रेखाङ्कन गरी सम्बन्धित व्यक्तिलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न र अन्य गुठी जग्गामा घर–टहरा निर्माण गरी बसोबास गरिएको क्षेत्र रेखाङ्कन गरी सम्बन्धित व्यक्तिलाई अतिक्रमण हटाउन सूचना दिइएको थियो ।

जनकपुर नगर क्षेत्रमा टोलीले काम थालेसँगै स्थानीय त्रसित बनेका छन् । गुठीको जग्गामा घर बनाएकाहरू थातथलो छोड्नुपर्ने हो कि मनोवैज्ञानिक त्रासमा छन् । त्यसमा पनि केन्द्रमा बालेन शाहको सरकार आएलगत्तै राजधानीमा सुकुमबासीहरूप्रति गरिएको व्यवहारले जनकपुरका कैयौँ बासिन्दा झनै सशंकित बनेका छन् ।

प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार ०८:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !