शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति घोषणा

शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति घोषणा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार १८:५४
शशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति घोषणा

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति घोषणा गरेको छ।

शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न समिति र भेलाका लागि आवश्यक अन्य विभिन्न उपसमितिको घोषणा गरेको छ। आयोजक समितिमा कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरू रहेका छन्।

ADVERTISEMENT

त्यस्तै, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरू समावेश गरिएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।

त्यसैगरी, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ।

राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समितिहरू समेत गठन गरिएको छ। जसअन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन्।

यसैगरी, व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, र स्वास्थ्य समिति लगायतका समितिहरू निर्माण गरिएको छ। शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १८:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !