नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सरकारसँग राम युवा कमिटीको माग

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सरकारसँग राम युवा कमिटीको माग
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार १२:२५
नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सरकारसँग राम युवा कमिटीको माग

जनकपुरधाम : श्री राम युवा कमिटी, जनकपुरधामले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहाको गोलबजारलगायत तराई–मधेशका विभिन्न जिल्लामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार अध्यक्ष सरोज कुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनालाई अत्यन्तै संवेदनशील र दुःखद भन्दै कमिटीले घटनाले सिर्जना गरेको तनावपूर्ण परिस्थितिप्रति स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ।

ADVERTISEMENT

कमिटीले घटनामा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाका गणेश यादव प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका सबै नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

विज्ञप्तिमार्फत नेपाल सरकार तथा स्थानीय प्रशासनसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।

कमिटीले आमनागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक अगुवा, विभिन्न संघ–संस्था, क्लब, कमिटी र सरोकारवाला सबै पक्षलाई शान्ति र संयम कायम राख्न अपिल गरेको छ। उद्योग, व्यवसाय, निजी तथा सार्वजनिक सम्पत्तिमा कुनै प्रकारको क्षति नपुर्‍याउन तथा सामाजिक सद्भाव कायम राख्न पनि आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सरकारसँग माग गरिएको पनि उल्लेख गरिएको छ।

कमिटीले वर्तमान संवेदनशील परिस्थितिमा सबै पक्षलाई आपसी सद्भाव, सहिष्णुता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै कुनै पनि प्रकारको मानवीय, आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षति हुन नदिन जिम्मेवार बन्न अपिल गरेको छ।

श्री राम युवा कमिटीका अध्यक्ष सरोज कुमार साहले जारी गरेको विज्ञप्तिमा शान्ति, सामाजिक सद्भाव र कानुनी प्रक्रियाबाट मात्रै समस्याको दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १२:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !