सुनसरी घटनामा राज्य संयन्त्रको पनि संलग्नता देखिन्छ : सीके राउत

सुनसरी घटनामा राज्य संयन्त्रको पनि संलग्नता देखिन्छ : सीके राउत
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार ११:०१
सुनसरी घटनामा राज्य संयन्त्रको पनि संलग्नता देखिन्छ : सीके राउत

काठमाडौं : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले सुनसरीमा भएको घटनामा राज्यका केही संयन्त्रहरूको समेत संलग्नता हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रधानमन्त्रीसँग भेटवार्ता गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले सार्वजनिक भएका भिडियोहरू हेर्दा सुरक्षाकर्मीहरू आक्रोशित ढंगले प्रस्तुत भएको देखिएको दाबी गरे। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र र निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।

ADVERTISEMENT

उनका अनुसार प्रधानमन्त्रीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुने विश्वास दिलाएका छन्। राउतले यस्ता समस्या बल प्रयोगबाट मात्रै समाधान नहुने भन्दै संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने सुझाव सरकारलाई दिएको जानकारी दिए।

राउतले मधेशमा पटक–पटक यस्ता घटना दोहोरिरहेकाले यसको दीर्घकालीन समाधान आवश्यक रहेको बताए। उनले घटनाको पृष्ठभूमिबारे विभिन्न प्रश्न उठाउँदै केही पक्षले सरकारलाई दबाबमा पार्ने वा असफल देखाउने उद्देश्यले भूमिका खेलेको हुन सक्ने आशंका व्यक्त गरे।

उनले घटनाका क्रममा बत्ती काटिएको, शव पाँच दिनसम्म राखिएको, सम्बन्धित प्रशासनिक अधिकारीहरूको भूमिकालगायत विषयले थप शंका उत्पन्न गरेको बताए। साथै, घटना अन्य जिल्लामा कसरी फैलियो, सेना तत्काल किन परिचालन गरियो र सुरक्षाकर्मीको व्यवहारबारे पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो।

राउतले मधेशमा देखिएको हिंसा र तनाव अन्त्य गर्न सरकारसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको पनि बताएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार ११:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !