धनुषामा कर्फ्यु आंशिक रूपमा खुकुलो, भोलि बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

धनुषामा कर्फ्यु आंशिक रूपमा खुकुलो, भोलि बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १५, शुक्रबार २२:१६
धनुषामा कर्फ्यु आंशिक रूपमा खुकुलो, भोलि बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले जारी कर्फ्यु आदेशलाई शनिबार बिहान आंशिक रूपमा खुकुलो बनाएको छ। सर्वसाधारणलाई दैनिक उपभोग्य अत्यावश्यक वस्तु खरिद गर्न सहज होस् भन्ने उद्देश्यले बिहान ५:०० बजेदेखि १०:०० बजेसम्म कर्फ्यु खुला गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार यसअघि साउन १४ गतेदेखि लागू गरिएको कर्फ्यु आदेश यथावत् रहनेछ। तर, सर्वसाधारणको दैनिक जीवन सहज बनाउन साउन १६ गते भोली शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्नका लागि कर्फ्यु आंशिक रूपमा खुला गरिएको हो।

ADVERTISEMENT

प्रशासनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आ–आफ्नो घर फर्किन तथा त्यसपछि पुनः कर्फ्यु आदेशको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ।

सूचनामा कर्फ्यु अवधिभर अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी तथा दूध बोक्ने सवारी, फोहोर व्यवस्थापनलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने उल्लेख गरिएको छ।

यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, एयरपोर्ट जाने–आउने यात्रु तथा उनीहरूलाई लिन–छोड्न जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाणपत्र साथमा राखेमा आवतजावत गर्न सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अफवाहमा नलाग्न, सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी कर्फ्यु आदेशको पूर्ण पालना गर्न पुनः आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार २२:१६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !