हिंसाले मधेशलाई १० वर्ष पछाडि धकेल्छ, सबै सचेत बनौं : अमरेश सिंह

हिंसाले मधेशलाई १० वर्ष पछाडि धकेल्छ, सबै सचेत बनौं : अमरेश सिंह
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १४, बिहीबार ०८:५६
हिंसाले मधेशलाई १० वर्ष पछाडि धकेल्छ, सबै सचेत बनौं : अमरेश सिंह

काठमाडौं : अमरेशकुमार सिंहको अपिल- हिंसाले मधेशलाई १० वर्ष पछाडि धकेल्छ, सचेत रहनुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशलाई अशान्त पार्ने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । पटकपटकका आन्दोलन तथा जातीय र धार्मिक हिंसाका कारण मधेश क्षेत्रले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै उनले हिंसा र मुडभेडले मधेशको विकासलाई पछाडि धकेल्ने बताएका हुन् ।

ADVERTISEMENT

सुनसरीलगायत विभिन्न स्थानमा देखिएको तनावपूर्ण परिस्थितिबीच सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै सांसद सिंहले मधेसी दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयमित रहन र सामाजिक सद्भाव कायम राख्न जोड दिएका छन्।

सांसद सिंहले मधेशमा हुने हरेक हिंसात्मक गतिविधि र आन्दोलनले यस क्षेत्रको समग्र प्रगतिमा गम्भीर असर पुर्‍याउने बताएका छन्। उनका अनुसार यस्ता घटनाले भौतिक संरचनाको विनाश मात्र गर्दैन, शैक्षिक सत्रमा अवरोध र व्यापार–व्यवसाय ठप्प पार्दा समग्र मधेसलाई नै ठूलो आर्थिक तथा सामाजिक धक्का लाग्ने गरेको छ।

‘प्रिय मधेसवासी, पटकपटकको आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई अशान्त मात्र होइन, १० वर्ष पछाडि धकेलेको छ। यस्ता हरेक गतिविधिले मधेसको भौतिक संरचना भत्काउने, शैक्षिक सत्र अवरुद्ध हुने, व्यापार–व्यवसाय ठप्प हुने जस्ता कारणले मधेसलाई नै ठूलो धक्का लाग्ने गरेको छ,’ उनले भनेका छन् ।

अब मधेशले द्वन्द्व र हिंसाको मार्ग छोडेर समृद्धिको एजेन्डामा केन्द्रित हुनुपर्ने समय आएको सांसद सिंहको भनाइ छ। उनले सबै वर्ग र समुदाय एक ढिक्का भएर मधेसको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारी क्षेत्रको दीर्घकालीन विकासमा लाग्न आह्वान गरेका छन्। ‘अब समय आएको छ सबै वर्ग, समुदाय मिलेर मधेसको समुन्नत विकासको एजेन्डालाई अगाडि सारेर अघि बढ्ने। अब मधेशले कुनै पनि हिंसात्मक गतिविधि नगरेर सम्पूर्ण मधेश एक ढिक्का भएर शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीमा दीर्घकालीन विकासमा जोड दिने समय हो,’ उनले भनेका छन् ।

समाजको शान्ति र सद्भाव खलबल्याउन खोज्ने तत्वहरूबाट सचेत रहन उनले मधेसवासीलाई विशेष अपिल गरेका छन्। सद्भाव भड्काउने व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गको भए पनि उनीहरू मधेसको विकासका शत्रु हुन् भन्ने कुरा बुझ्न पर्नेमा उनले जोड दिएका छन्। ‘म सम्पूर्ण मधेसवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा अपिल गर्न चाहन्छु— कुनै पनि असामाजिक तत्व, जसले एकजुट भएर बसेको समाजको शान्ति, सद्भाव खलबलाउने व्यक्ति, त्यसको पछाडि नलाग्न अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै समुदाय या वर्गको भए पनि त्यो मधेसको विकासको विरोधी हो बुझ्नुपर्छ र त्यस्तालाई सामाजिक बहिष्कार गर्नुपर्छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार ०८:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !