धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश दिँदै त्रिचन्द्र कलेजका विद्यार्थीको प्रतीकात्मक प्रदर्शन

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश दिँदै त्रिचन्द्र कलेजका विद्यार्थीको प्रतीकात्मक प्रदर्शन
मधेश पत्र मधेश पत्र २०८३ श्रावण १३, बुधबार १९:४८
धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश दिँदै त्रिचन्द्र कलेजका विद्यार्थीको प्रतीकात्मक प्रदर्शन

काठमाडौं । पछिल्लो समय नेपालका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक तनाव सिर्जना गर्ने घटनाहरू सार्वजनिक भइरहेका बेला त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले विशेष प्रतीकात्मक प्रदर्शन गरेका छन्।

सुनसरीमा हालै भएको घटनापछि समाजमा बढ्न सक्ने अविश्वास, विभाजन र असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै विद्यार्थीहरूले आ-आफ्नो धार्मिक आस्थाको प्रतिनिधित्व गर्ने पोशाक लगाएर सामूहिक रूपमा नेपालको राष्ट्रिय गान गाएका हुन्। उनीहरूको यो प्रदर्शनले धर्मभन्दा माथि राष्ट्र, मानवता र सहअस्तित्व रहेको सन्देश प्रवाह गरेको छ।

ADVERTISEMENT

प्रदर्शनमा हिन्दू समुदायको प्रतिनिधित्व गर्दै गोविन्द कोइराला, मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै मोहम्मद अफताब, बौद्ध समुदायको प्रतिनिधित्व गर्दै साजन तामाङ तथा इसाई समुदायको प्रतिनिधित्व गर्दै हेमन्त नेपाल सहभागी भएका थिए।

विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै गाेविन्द काेइरालाले भने, “हामी धर्म, जात, भाषा, लिङ्ग वा समुदायका आधारमा विभाजित हुन चाहँदैनौं। हामी फरक-फरक आस्था बोकेका भए पनि हाम्रो साझा पहिचान नेपाली हो। शान्ति, सद्भाव र एक-अर्काको सम्मान नै हाम्रो भविष्यको आधार हुनुपर्छ।”

उनीहरूले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलाइने घृणाजन्य अभिव्यक्ति, धार्मिक उत्तेजना र समुदायबीच अविश्वास बढाउने गतिविधिले नेपालको सामाजिक सद्भावलाई कमजोर बनाउन सक्ने भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। विद्यार्थीहरूका अनुसार कुनै पनि घटनालाई बहाना बनाएर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा समाजलाई विभाजनतर्फ धकेल्नु लोकतान्त्रिक मूल्य र नेपालको बहुलवादी चरित्र विपरीत हो।

नेपाल विभिन्न धर्म, संस्कृति, भाषा र जातजातिको साझा फूलबारी हो। संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, अभ्यास गर्ने र संरक्षण गर्ने अधिकार सुनिश्चित गरेको छ। यस्तो अवस्थामा धार्मिक विविधतालाई द्वन्द्वको विषय होइन, राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता विद्यार्थीहरूले औँल्याएका छन्।

उनीहरूले शान्ति, सहिष्णुता, आपसी सम्मान र राष्ट्रिय एकतालाई बलियो बनाउन सबै नागरिक, विशेषगरी युवालाई घृणाभन्दा प्रेम, विभाजनभन्दा सहकार्य र हिंसाभन्दा सद्भावको पक्षमा उभिन आह्वान गरेका छन्। धार्मिक पहिचान फरक हुन सक्छ, तर नेपालको भविष्य साझा छ। यही साझा भविष्यलाई सुरक्षित राख्न सहिष्णुता, भातृत्व र राष्ट्रिय एकताको संस्कृति अझ सुदृढ बनाउनुपर्ने सन्देश प्रदर्शनले प्रवाहा गरेकाे बताउँछन्, साजन तामाङ।

प्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार १९:४८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !