जनकपुर पुगे गुठी संस्थानको टोली, सात पोखरीको अतिक्रमण हटाइँदै

जनकपुर पुगे गुठी संस्थानको टोली, सात पोखरीको अतिक्रमण हटाइँदै
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १३, बुधबार ०९:३६
जनकपुर पुगे गुठी संस्थानको टोली, सात पोखरीको अतिक्रमण हटाइँदै

जनकपुरधाम : गुठी संस्थानअन्तर्गत रहेका जनकपुरधामका सातवटा पोखरीको अतिक्रमित डिल तथा जग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको छ।

गुठी संस्थानले साउन १ गते सार्वजनिक सूचना जारी गर्दै पोखरी क्षेत्रको अतिक्रमण हटाउने जानकारी गराएको थियो। सोहीअनुसार गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरको नेतृत्वमा टोली मंगलबार जनकपुरधाम आइपुगेको हो।

ADVERTISEMENT

जनकपुरधाम पुगेको टोलीले उपमहानगरपालिकाका पदाधिकारीसँग भेटघाट गरेको छ। उपमहानगरपालिकामा भएको भेटमा नगरप्रमुख मनोजकुमार साह, प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे तथा कार्यपालिका सदस्य राकेशविक्रम साहले गुठी संस्थानको टोलीलाई स्वागत गरेका थिए।

भेटका क्रममा जनकपुरधामभित्र रहेका गुठीका जग्गा तथा पोखरी संरक्षण, अतिक्रमण हटाउने प्रक्रिया र आगामी कार्ययोजनाबारे छलफल भएको जनाइएको छ।

ऐतिहासिक तथा सार्वजनिक पोखरी संरक्षण अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले गुठी संस्थानको टोली जनकपुरधाम आएको हो। जनकपुरधाम उपमहानगरपालिकाका अनुसार बुधबार बिहान बस्ने संयुक्त बैठकपछि पहिलो चरणमा रेखाङ्कन सम्पन्न भइसकेका पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान सुरु गर्ने तयारी छ।

गुठी संस्थानले पहिलो चरणमा रत्नसागर पोखरी, मुरलीसर, अरगज्जा पोखरी, दीर्घिका सर, दशरथ तलाउ र गोडधोई पोखरीसहित सातवटा पोखरीको अतिक्रमित डिल तथा जग्गा खाली गराउने जनाएको छ।

पोखरी क्षेत्रको संरक्षण, सार्वजनिक सम्पत्तिको व्यवस्थापन र अतिक्रमण नियन्त्रणका लागि गुठी संस्थान तथा जनकपुरधाम उपमहानगरपालिकाबीच समन्वय गरी अभियान सञ्चालन गरिने बताइएको छ।

अतिक्रमण हटाउने अभियानका लागि सुरुमा नौ सदस्यीय टोली गठन गरिएको थियो। त्यसमा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र संस्कृति मन्त्रालयका एक जना पदाधिकारी थप गरी टोलीलाई १२ सदस्यीय बनाइएको जनाइएको छ।

स्थानीय तहले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरीहरूको संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार ०९:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !