सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी

सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
मधेशपत्र मधेशपत्र २०८३ असार २८, आईतवार ०९:२४
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी

जनकपुरधाम : धनुषाका विभिन्न क्षेत्रमा मनसुनी वर्षा सुरु भइसके पनि खडेरी तथा खानेपानीको समस्या कायमै रहेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी अनुदानमा निर्माण गरिएका खानेपानीका स्रोतबाट मनपरी शुल्क नलिन सम्बन्धित पक्षलाई चेतावनी दिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले शुक्रबार जारी गरेको सूचनामा कमला नगरपालिका लगायत जिल्लाका केही स्थानीय तहका वडा तथा बस्तीमा बोरिङ, डिप बोरिङ तथा अन्य भूमिगत पानीका स्रोतबाट पर्याप्त पानी नआउँदा स्थानीयवासी खानेपानीको समस्यामा परेको उल्लेख गरिएको छ।

ADVERTISEMENT

प्रशासनका अनुसार प्रभावित क्षेत्रमा तत्काल पिउने पानीको उपलब्धता सुनिश्चित गर्न सम्बन्धित वडा कार्यालय, स्थानीय तह तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग समन्वय गरी आवश्यक पहल भइरहेको छ।

सूचनामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न दातृ निकायको अनुदानमा जडान गरिएका पम्पसेट, बोरिङ, डिप बोरिङ र इनारजस्ता सामुदायिक खानेपानी तथा सिँचाइका स्रोतबाट केही व्यक्तिले अत्यधिक शुल्क असुलेर मात्र पानी उपलब्ध गराउने गरेको गुनासो प्राप्त भएको जनाइएको छ।

प्रशासनले सरकारी अनुदानमा निर्माण भएका यस्ता संरचनाबाट समुदायले निर्धारण गरेको सर्वसुलभ दरमै खानेपानी तथा सिँचाइ सुविधा उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

साथै, सार्वजनिक हितका लागि निर्माण गरिएका स्रोतको दुरुपयोग गर्दै व्यक्तिगत लाभ वा नाफा कमाउने उद्देश्यले चर्को शुल्क असुलेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको छ।

प्रकाशित मिति: २०८३ असार २८, आईतवार ०९:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !