सिरहामा भारतीय सुटरमार्फत ह*त्या गराएको आरोपमा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान

सिरहामा भारतीय सुटरमार्फत ह*त्या गराएको आरोपमा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
मधेशपत्र मधेशपत्र २०८३ असार २७, शनिबार ११:५०
सिरहामा भारतीय सुटरमार्फत ह*त्या गराएको आरोपमा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान

सिरहा : सिरहा जिल्ला अदालतले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। दुवै घटनामा भारतबाट सुटर बोलाएर हत्या तथा गोली प्रहार गराइएको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दाका प्रतिवादी उपेन्द्र यादव र ज्यान मार्ने उद्योग तथा संगठित अपराध मुद्दाका प्रतिवादी हरी ठाकुर बरहीलाई अदालतको आदेशपछि कारागार पठाइएको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार गत पुस १६ गते सिरहा नगरपालिका–७ स्थित मैनावती नदी किनारको बाँसघारीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको थियो। घटनाको अनुसन्धानका क्रममा उपेन्द्र यादवले योजनाबद्ध रूपमा भारतबाट सुटर बोलाएर हत्या गराएको खुलेको प्रहरीले जनाएको छ।

उपेन्द्र यादवलाई गत वैशाख २७ गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो। जिल्ला अदालतले उनीविरुद्धको अभियोगको प्रारम्भिक आधार पर्याप्त देखिएको भन्दै पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

यस्तै, माघ ४ गते औरही गाउँपालिका–५ स्थित जितिया मन्दिर परिसरमा श्यामसुन्दर ठाकुरमाथि गोली प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरी ठाकुर बरही**लाई पनि अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।

प्रहरी अनुसन्धानअनुसार बरहीले पनि भारतबाट सुटर बोलाएर श्यामसुन्दर ठाकुरमाथि टाउको लक्षित गरी गोली प्रहार गराएको आरोप छ। उक्त घटनामा ठाकुर घाइते भएका थिए।

बरहीलाई पनि गत वैशाख २७ गते सिरहा नगरपालिका–१ हनुमानचोकबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध ज्यान मार्ने उद्योग तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको थियो।

जिल्ला अदालत सिरहाले दुवै अभियुक्तविरुद्धको प्रारम्भिक प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ असार २७, शनिबार ११:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !