प्रतिनिधिसभा बैठक आज बस्दै, विशेष सेवा ऐनदेखि राष्ट्र बैंक संशोधन विधेयकसम्म पेश हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, विशेष सेवा ऐनदेखि राष्ट्र बैंक संशोधन विधेयकसम्म पेश हुने
मधेशपत्र मधेशपत्र २०८३ असार २२, सोमबार ०९:४३
प्रतिनिधिसभा बैठक आज बस्दै, विशेष सेवा ऐनदेखि राष्ट्र बैंक संशोधन विधेयकसम्म पेश हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज सोमबार बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धीसम्बन्धी प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन्। सदनबाट अनुमति प्राप्त भएपछि उक्त विधेयक औपचारिक रूपमा प्रतिनिधिसभामा दर्ता गरिनेछ।

ADVERTISEMENT

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन्।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘बाध्यकारी श्रम महासन्धी, १९३०’ सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यससँगै मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ माथि विचार गरियोस् भन्ने अर्को प्रस्ताव पनि प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ असार २२, सोमबार ०९:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !