राजस्व चुहावट मुद्दामा निलम्बित मेयर भरत थापा साधारण तारेखमा रिहा

राजस्व चुहावट मुद्दामा निलम्बित मेयर भरत थापा साधारण तारेखमा रिहा
मधेशपत्र मधेशपत्र २०८३ असार १७, बुधबार ११:०६
राजस्व चुहावट मुद्दामा निलम्बित मेयर भरत थापा साधारण तारेखमा रिहा

सर्लाही : राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा निलम्बित बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मंगलबार थापालाई थुनामा नराखी साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएको हो। थापा बुधबार अदालतमा उपस्थित भएका थिए।

ADVERTISEMENT

थुनछेक बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आवश्यक नदेखिएको भन्दै साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो।

थापाविरुद्ध बागमती नगरपालिकाको ‘भरत ताल’ निर्माणका क्रममा वन पैदावारको अवैध उत्खनन तथा बिक्री गरी ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० माघ २८ गते तत्कालीन मेयर भरत थापा, तत्कालीन उपमेयर लिलाकुमारी मोक्तानसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने क्षेत्रमा बागमती माछा पोखरी (भरत ताल) निर्माणका क्रममा सात करोड ३८ लाख ९३ हजार क्यूफिट वन पैदावार कानुनविपरीत उत्खनन तथा बिक्री गरी राज्यलाई ठूलो राजस्व नोक्सानी पुर्‍याइएको आरोप छ। उक्त मुद्दामा भरत थापा मुख्य प्रतिवादी रहेका छन्।

यस मुद्दामा सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुख विशाल घिमिरे, देवेशमणि त्रिपाठी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेललगायत १३ जनालाई प्रतिवादी बनाइएको छ।

प्रकाशित मिति: २०८३ असार १७, बुधबार ११:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !