मूल्य घटेपछि पनि पुरानै दरमा पेट्रोल बिक्री गरेको आरोप, रौतहटको श्रीराम आयल स्टोर्स विवादमा

मूल्य घटेपछि पनि पुरानै दरमा पेट्रोल बिक्री गरेको आरोप, रौतहटको श्रीराम आयल स्टोर्स विवादमा
मधेशपत्र मधेशपत्र २०८३ असार १७, बुधबार ११:०२
मूल्य घटेपछि पनि पुरानै दरमा पेट्रोल बिक्री गरेको आरोप, रौतहटको श्रीराम आयल स्टोर्स विवादमा

जनकपुरधाम : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्ट रौतहटको गरुडास्थित श्रीराम आयल स्टोर्स पुरानै दरमा पेट्रोल बिक्री गरेको आरोपमा विवादमा परेको छ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको थियो। नयाँ समायोजित मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९५ रुपैयाँमा बिक्री हुनुपर्ने भए पनि उक्त पम्पले २१५ रुपैयाँकै दरमा पेट्रोल बिक्री गरेको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्।

ADVERTISEMENT

स्थानीय एक सेवाग्राहीले मोटरसाइकलमा पेट्रोल भरेपछि पुरानै मूल्य लिइएको दाबी गर्दै फेसबुक लाइभमार्फत विरोध जनाएका छन्। उनले सरकारले तोकेको नयाँ मूल्य कार्यान्वयन नगरी उपभोक्ताबाट बढी रकम असुलेको आरोप लगाउँदै सम्बन्धित निकायसँग छानबिन र कारबाहीको माग गरेका छन्।

घटनापछि सामाजिक सञ्जालमा समेत व्यापक प्रतिक्रिया देखिएको छ। उपभोक्ताहरूले मूल्य समायोजन लागू भइसकेपछि पनि पुरानो दरमा बिक्री गर्नु गैरकानुनी भएको भन्दै स्थानीय प्रशासनले तत्काल अनुगमन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्।

यसैबीच, नेपाल आयल निगमले मूल्य घटाएको सूचना सार्वजनिक भएपछि रौतहट र बाराका केही पेट्रोल पम्पले केही समय सेवा बन्द गरेको आरोप पनि उपभोक्ताहरूले लगाएका छन्। मूल्य बढ्दा तत्काल नयाँ दर लागू गर्ने तर मूल्य घट्दा पुरानो मौज्दात सक्ने उद्देश्यले सेवा अवरुद्ध गरिएको हुन सक्ने आशंका उपभोक्ताहरूको छ। यद्यपि, यसबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भएको छैन।

घटनाबारे प्रतिक्रिया लिन खोज्दा श्रीराम आयल स्टोर्सका सञ्चालक जयलाल साह सम्पर्कमा आउन चाहेनन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा अनियमितता भएको पुष्टि भए तत्काल कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको बताए। सरकारले तोकेको मूल्यभन्दा बढी दरमा इन्धन बिक्री गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने उनले स्पष्ट पारे।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय उपभोक्ताहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति: २०८३ असार १७, बुधबार ११:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !