निलम्बित मेयर थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ असार १५ मा

निलम्बित मेयर थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ असार १५ मा
मधेशपत्र मधेशपत्र २०८३ असार २, मंगलवार ०६:४२
निलम्बित मेयर थापासहित ८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ असार १५ मा

जनकपुरधाम : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित आठ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ आगामी असार १५ गतेका लागि सरेको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएपछि मुद्दाको सुनुवाइ स्थगित गर्दै नयाँ मिति तय गरिएको हो।

ADVERTISEMENT

उक्त मुद्दामा यसअघि चार पटक साक्षी बुझ्ने आदेश भइसकेको छ भने एक पटक बहस नोट माग गर्ने आदेश पनि भएको अदालतले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ ४ गते निलम्बित मेयर थापासहित उपमेयर लिलाकुमारी मोक्तान, पूर्वमन्त्री विजयकुमार तथा अन्य पाँच जनाविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दाका अन्य प्रतिवादीमा विमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने र गोकुल भुजेल रहेका छन्।

आयोगका अनुसार बागमती नगरपालिका–४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खननबाट बनेका खाल्डोमा माछापोखरी निर्माणको नाममा संघ र प्रदेश सरकारबाट करोडौँ रुपैयाँ अनुदान लिएर हिनामिना गरिएको आरोप छ।

त्यस्तै, माछाविहीन पोखरीका लागि मधेस प्रदेश सरकारबाट पटक–पटक अनुदान लिएको तथा निर्माण कार्य पूरा नभएकै अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरी ३० करोड रुपैयाँ अनुदान उपलब्ध गराएको अभियोगसमेत लगाइएको छ।

आयोगले उनीहरूमाथि साबिक वन ऐन, २०४९ र प्रचलित वन ऐन, २०७६ विपरीत गैरकानुनी संरचना निर्माण गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ।

प्रकाशित मिति: २०८३ असार २, मंगलवार ०६:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !