ट्रेड युनियन खारेज गर्ने कदम गैरसंवैधानिक : डा. सीके राउत

ट्रेड युनियन खारेज गर्ने कदम गैरसंवैधानिक : डा. सीके राउत
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २४, बिहीबार १२:३५
ट्रेड युनियन खारेज गर्ने कदम गैरसंवैधानिक : डा. सीके राउत

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा . सीके राउतले सरकारले ट्रेड युनियनहरू खारेज गर्ने सरकारको कदमलाई गैरसंवैधानिकको संज्ञा दिएका छन्। उनले श्रमिकहरूको संगठित हुने तथा सामूहिक सौदाबाजी गर्ने अधिकार संविधान र अन्तर्राष्ट्रिय महासन्धिद्वारा सुरक्षित भएकाले कुनै अध्यादेश वा सामान्य कानुनमार्फत त्यस्तो अधिकार खोस्न नहुने बताएका छन्।

डा .राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालले आइएलओ कन्भेसन नं. ९८ (संगठित हुने र सामूहिक सौदाबाजी गर्ने अधिकार महासन्धि, १९४९) लाई सन् १९९६ मा अनुमोदन गरेको छ। यो महासन्धिले श्रमिकहरूलाई ट्रेड युनियन बनाउने र रोजगारदातासँग सामूहिक सौदाबाजी गर्ने अधिकारको ग्यारेन्टी गर्दछ।’

ADVERTISEMENT

उनका अनुसार नेपालको संविधानको धारा १७(२)(घ) र ३४(३) ले समेत श्रमिकहरूको उक्त अधिकारलाई आधारभूत हकका रूपमा संरक्षण गरेको छ। ‘यसलाई नेपालको संविधान र श्रम ऐनले पनि आधारभूत हकको रूपमा मान्यता दिएका छन्। संविधानको धारा १७(२)घ र ३४(३) ले यसलाई संरक्षित गरेको छ,’ उनले भने, ‘तसर्थ कुनै अध्यादेश ल्याएर वा संसदबाट सामान्य ऐन ल्याएर श्रमिकहरूको सो हक खोस्न सकिँदैन। सरकारले संविधानको रक्षा गर्ने हो, उल्लंघन गर्ने होइन।’

राउतले ट्रेड युनियन कर्मचारी तथा मजदूरहरूको सामूहिक आवाज भएको उल्लेख गर्दै एक्लो कामदारले तलब, सेवा सुविधा, कामको समय, सुरक्षा तथा श्रम अधिकारका विषयमा प्रभावकारी रूपमा आवाज उठाउन नसक्ने बताए। तर संगठित भएपछि श्रमिकहरूले सामूहिक रूपमा आफ्नो अधिकार सुनिश्चित गर्न सक्ने उनको भनाइ छ।

उनले ट्रेड युनियन कमजोर वा समाप्त भए न्यून तलब, अत्यधिक कामको बोझ, जबर्जस्ती ओभरटाइम, बिना कारण जागिरबाट निकालिने, असुरक्षित कार्यस्थल तथा दुर्घटना वा बिरामी पर्दा संरक्षण नपाइने जस्ता समस्या बढ्न सक्ने बताए। श्रमिकलाई शोषणबाट जोगाउन तथा सम्मानजनक कामको वातावरण सुनिश्चित गर्न ट्रेड युनियन आवश्यक रहेको उनको धारणा छ।

उनले भनेका छन्, ‘यदि ट्रेड युनियन नभए न्यून तलबमा काम गराइने, अत्यधिक कामको बोझ दिइने, जबर्जस्ती ओभरटाइम गराइने, बिना कारण जागिरबाट निकालिने, कार्यस्थल असुरक्षित बनाइने, दुर्घटना वा बिरामी हुँदा संरक्षण नपाइने, मालिकको डरले आवाज उठाउन नसकिने जस्ता शोषण बढ्न सक्छन्। त्यसैले ट्रेड युनियन श्रमिक र कर्मचारीलाई शोषणबाट जोगाउने, न्यायपूर्ण तलब र सम्मानजनक कामको वातावरण सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम मानिन्छ।’

प्रकाशित मिति: २०८३ बैशाख २४, बिहीबार १२:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !