गुठी जग्गाका घरटहरा हटाउने तयारीविरुद्ध धनुषामा प्रदर्शन, निर्णय फिर्ता लिन माग

गुठी जग्गाका घरटहरा हटाउने तयारीविरुद्ध धनुषामा प्रदर्शन, निर्णय फिर्ता लिन माग
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १७, बिहीबार २१:२५
गुठी जग्गाका घरटहरा हटाउने तयारीविरुद्ध धनुषामा प्रदर्शन, निर्णय फिर्ता लिन माग

जनकपुरधाम : धनुषाका विभिन्न मठ–मन्दिर तथा गुठीको जग्गामा बनाइएका घरटहरा हटाउने तयारी गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।

‘गुठी, कुटी घर जग्गा व्यवस्थापन संघर्ष समिति’ को आह्वानमा बिहीबार पीडित पक्षले जनकपुरधाममा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

ADVERTISEMENT

मधेस प्रदेश सरकारको निर्णय भन्दै सञ्चारमाध्यममा सार्वजनिक भएका सूचनाप्रति असन्तुष्टि जनाउँदै संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ।

समितिले विगत लामो समयदेखि बसोवास गर्दै आएका हजारौं परिवारलाई विस्थापित गर्ने उद्देश्यले घरटहरा हटाउने तयारी गरिएको भन्दै आपत्ति जनाएको छ।

ज्ञापनपत्रमा २०६८ सालमै जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, नापी र मालपोत कार्यालयको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी घर–जग्गाको नाप–नक्सा तथा प्रमाणीकरण गरिसकेको उल्लेख छ। त्यसबेला गुठीको जग्गालाई उचित मूल्य निर्धारण गरी ‘रैकर’ (निजी) सरह बनाउने प्रक्रिया अघि बढाइएको दाबी समितिको छ।

तर अहिले एक्कासी घरटहरा भत्काउने आशयको सूचना सार्वजनिक हुनु अनपेक्षित र अन्यायपूर्ण भएको संघर्ष समितिको भनाइ छ।

समितिले गुठी संस्थान ऐन, २०३३ को दफा २५ उद्धृत गर्दै २०४६ साल चैत २६ गतेअघि निर्माण भएका घरहरू ‘रैतान नम्बरी’ मा परिणत हुनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।

दशकौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई हटाउने प्रयास गरिए गम्भीर मानवीय तथा आर्थिक संकट निम्तिने चेतावनी पनि समितिले दिएको छ।

जनकपुरधाम उपमहानगरपालिका सहित धनुषाका विभिन्न स्थानमा हजारौं परिवार पुस्तौंदेखि यस्ता गुठी जग्गामा बस्दै आएको समितिको दाबी छ। तत्कालीन समयमा कुनै पनि निकायले घर निर्माणमा अवरोध नगरेको अवस्थामा अहिले आएर हटाउन खोज्नु न्यायोचित नभएको प्रदर्शनकारीहरूको तर्क छ।

संघर्ष समितिले सरकारलाई निर्णय पुनर्विचार गर्न, पुस्तौंदेखि भोगचलन गर्दै आएका स्थानीयको उठीबास नलगाउन तथा समस्या समाधानका लागि संवादमार्फत निकास खोज्न आग्रह गरेको छ। माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरूले दिएका छन्।

प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार २१:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !