नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला
मधेश पत्र मधेश पत्र २०८३ बैशाख १५, मंगलवार १०:१४
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ। अर्थ मन्त्रालयले सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट सात दिनभित्र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको हो।

सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्नेछ।

ADVERTISEMENT

अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्नेछ। साथै, उच्च नैतिक चरित्र, नेपाली नागरिकता तथा सम्बन्धित कानुनअनुसार अयोग्य नभएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ।

उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड पनि तोकिएको छ।

आवेदनका क्रममा बायोडाटा, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र तथा पेशागत अनुभव पुष्टि गर्ने कागजात पेश गर्नुपर्नेछ। साथै, मन्त्रालयको वेबसाइटमा उपलब्ध ढाँचाअनुसार स्वघोषणा फारामसमेत अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

अर्थ मन्त्रालयले प्राप्त आवेदनहरूबाट सिफारिस समितिले संक्षिप्त सूची तयार गर्ने र आवश्यक परेमा थप विवरण माग गर्न सक्ने जनाएको छ। झुट्टा विवरण पेश गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ। सरकारले धितोपत्र बजारको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन यो सूचना सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित मिति: २०८३ बैशाख १५, मंगलवार १०:१४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !