प्रधानाध्यापकलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

प्रधानाध्यापकलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १२, शनिबार १७:११
प्रधानाध्यापकलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

काठमाडौं : ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तधहादुर मगरलाई दुर्व्यवहार गरेको विषयमा आलोचना भएपछि माफी मागेका छन्।

शनिबार पोखरेलले विज्ञप्ति जारी गर्दै घटनालाई लिएर क्षमायाचना गरेका हुन्। संघीय संसदको बैठक स्थगित भएको समयमा आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट र समस्या बुझ्ने क्रममा वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा पुग्दा भएको विवादका विषयमा उनले स्पष्टीकरण पनि दिएका छन्।

ADVERTISEMENT

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओले घटनाको पूर्ण सन्दर्भ नबुझाई केही अंश मात्र काटेर प्रस्तुत गरेको उल्लेख गरिएको उनको दाबी छ। उनले तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत हुँदा विवाद सिर्जना भएकोमा खेद प्रकट गरेका छन्। यद्यपि, सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने कुरा स्वीकार गर्दै उनले परिस्थितिजन्य दबाबका बाबजुद आफूले थप धैर्य र मर्यादा राख्नुपर्ने बताएका छन्।

‘यस घटनाका कारण पार्टी, शुभेच्छुक, समर्थक, विद्यालय परिवार, स्थानीय समुदाय तथा आम जनसमुदायलाई ठेस पुगेकोमा म विनम्रतापूर्वक क्षमा चाहन्छु,’ पोखरेलले भनेका छन्।

यस्तो थियो घटना

वैशाख ​९ गते गाउँमा सांसद आउने खबरले ओखलढुङ्गाको चण्डेश्वरी माध्यमिक विद्यालयमा बिहानैदेखि एउटा छुट्टै उत्साह थियो।

विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र अन्य कर्मचारी बिहान ७ बजे नै विद्यालय पुगिसकेका थिए। आफ्नो क्षेत्रको अभिभावकलाई विद्यालयका समस्याहरू लिखित रूपमै बुझाउने र भव्य स्वागत गर्ने तयारी गाउँले र विद्यालयको थियो। तर, दृश्य त्यस्तो भएन जस्तो गाउँलेले सोचेका थिए।

​विद्यालय परिवारले सांसदको स्वागतका लागि कुनै कसर बाँकी राखेको थिएन। खादा, माला र कुर्सीहरू ठिक्क पारिएका थिए। स्थानीयबासी र बाजागाजाको टोली सांसदलाई स्वागत गर्न अलि पर दुधु भन्ने ठाउँसम्म पुगेका थिए। त्यहाँबाट बाजागाजासहित पोखरेललाई विद्यालय परिसरमा ल्याइयो।

​सांसद पोखरेल विद्यालय पुग्दा प्रधानाध्यापक र लेखाका कर्मचारीहरू भित्र कार्यालयमा विद्यालयका समस्या र मागहरूको सूची तयार पार्न व्यस्त थिए। उनीहरूको सोच थियो, ‘माननीय आएपछि रित्तो हात पठाउनुहुन्न, गाउँका समस्या लिखित रूपमै बुझाउनुपर्छ।’

​बाहिर विद्यालयका कार्यालयका शिक्षक तथा सहयोगी कर्मचारीले सांसद पोखरेललाई ‘बस्नुस् न’ भन्दै कुर्सी अघि सारे। तर, भित्रबाट सरहरू निस्कन नपाउँदै उनी झर्किएर हिँडिहाले। ‘माननीयज्यू त फर्किनुभयो’ भन्ने खबर भित्र पुगेपछि हतारहतार बाहिर निस्किएका प्रधानाध्यापक सन्तबहादुर मगरले माफी माग्दै भने, ‘हजुर आएको थाहा पाएनौँ, हामीलाई माफ गर्नुस्।’

तर, पूर्व अतिरिक्त महानिरीक्षक एवं ओखलढुंगाबाट निर्वाचित सांसद पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई आफू आउँदा स्वागत नगरेको भन्दै हप्काएका थिए। विद्यालय प्रशासन र स्थानीयसँगको कुराकानीका क्रममा पोखरेलले आफ्नो ओहोदा र विगतको जागिरे जीवनको धाक लगाउँदै प्रधानाध्यापकको चर्को आलोचना गरेको भिडियो भाइरल भएको छ।

​सार्वजनिक भएको भिडिओ संवादमा सांसद पोखरेलले आफू नेपाल प्रहरीको विशिष्ट श्रेणीबाट अवकाश प्राप्त व्यक्ति भएको र हाल जनताको मत जितेर आएको ‘माननीय’ भएको भन्दै आफ्नो सम्मानमा कमी भएको गुनासो गरे। उनले भने, ‘म २९ वर्ष काम गरेको मान्छे हुँ, मसँग काम गर्नेहरू अहिले सचिव हुँदै छन्। म पुलिस फोर्सको विशिष्ट श्रेणीको मान्छे हो, आईजी हुन लागेको मान्छे अन्याय परेर राजनीतिमा आएको हुँ।’

​प्रधानाध्यापक कार्यकक्षबाट बाहिर निस्किएर स्वागत नगरेकोमा आक्रोशित पोखरेलले विद्यालयका शिक्षकहरूलाई बैठक बसेर ‘खेद प्रस्ताव’ पारित गर्न समेत दवाव दिएका थिए। उनले भनेका छन्, ‘तपाईंहरू शिक्षकले खेद प्रस्ताव पास गर्नुस्, अनि मात्र म तपाईंको विद्यालयमा छिर्छु। माननीय आउँदा झारपात आए जस्तो गर्ने?’

उनले भनेको भिडिओ अहिले भाइरल भएको छ। चारैतिरबाट आलोचना भएपछि उनले आज माफी मागेका हुन्।

प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार १७:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !