प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
मधेशपत्र मधेशपत्र २०८२ माघ ९, शुक्रबार २१:३६
प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेको सङ्ख्या आजसम्म देशभरबाट तीन हजार ४०६ जना छन्।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार दर्ता गराएका उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन्। उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन्भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन्। त्यसैगरी ६१ वर्षभन्दा माथिका चार सय २५ जना छन्।

ADVERTISEMENT

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज दिउँसो आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका थिए।

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबीविरोधको समय दिइएको छ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए। माघ १० गते दाबीविरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ।

प्रकाशित मिति: २०८२ माघ ९, शुक्रबार २१:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !