धनुषाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना

धनुषाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना
मधेशपत्र मधेशपत्र २०८२ माघ ४, आईतवार १२:२१
धनुषाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना

जनकपुरधाम : प्रतिनिधिसभा निर्वाचन २०८२ फागुन २१ गते हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

सम्बन्धित निर्वाचन क्षेत्रका अधिकृतहरूले आ–आफ्नो क्षेत्रमा रहेका मतदाता सङ्ख्या, मतदान स्थल तथा मतदान केन्द्रको विवरण पनि सार्वजनिक गरेका छन्।

ADVERTISEMENT

निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत मनोज बरालका अनुसार उक्त क्षेत्रको कार्यालय धनुषाधाम नगरपालिका–३ स्थित इलाका प्रशासन कार्यालयको निर्माणाधीन नयाँ भवनमा स्थापना गरिएको छ। यस क्षेत्रमा १ लाख २६ हजार ४० जना मतदाता रहेका छन्। निर्वाचन व्यवस्थापनका लागि २५ मतदान स्थल र १६३ मतदान केन्द्र निर्धारण गरिएको बरालले जानकारी दिए।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत दामोदर रेग्मीले विदेह नगरपालिका–६ तिनकौरिया चोकमा कार्यालय स्थापना गरिएको बताए। उनका अनुसार यस क्षेत्रमा १ लाख ३४ हजार ८२६ मतदाता छन्। यहाँ ८८ मतदान स्थल र १७४ मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचन क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार उक्त क्षेत्रको कार्यालय जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा स्थापना गरिएको छ। यस क्षेत्रमा १ लाख २५ हजार ९२७ मतदाता रहेका छन् भने ७४ मतदान स्थल र १५५ मतदान केन्द्र निर्धारण गरिएको छ।

यस्तै, निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा कार्यालय स्थापना गरिएको जानकारी दिए। उनका अनुसार यस क्षेत्रमा १ लाख २७ हजार ७७८ मतदाता छन्। यहाँ ७५ मतदान स्थल र १५३ मतदान केन्द्र तोकिएका छन्।

मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्र गरी महिला मतदाता २ लाख ३८ हजार ४३५, पुरुष २ लाख ७६ हजार १२६ र अन्य १० जना रहेका छन्। निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्लाभर करिब ३० हजार ८७० जना कर्मचारी परिचालन गर्नुपर्ने उनले बताए।

मतदान स्थलमा खटिने अधिकृत तथा कर्मचारीको विस्तृत विवरण भने तयारीकै चरणमा रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८२ माघ ४, आईतवार १२:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !