नयाँ शक्तिको नाममा मधेसमा सुनियोजित षड्यन्त्र भइरहेको छ : अर्थमन्त्री यादव

नयाँ शक्तिको नाममा मधेसमा सुनियोजित षड्यन्त्र भइरहेको छ : अर्थमन्त्री यादव
मधेशपत्र मधेशपत्र २०८२ माघ ४, आईतवार १०:४८
नयाँ शक्तिको नाममा मधेसमा सुनियोजित षड्यन्त्र भइरहेको छ : अर्थमन्त्री यादव

जनकपुरधाम : मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादवले नयाँ शक्तिको आवरणमा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

शनिबार जनकपुरधाम जेसीजको ४३औँ शाखा अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथिकासमेत रहेको अर्थमन्त्री यादवले मधेसी पहिचानलाई कमजोर पार्ने उद्देश्यले केही ‘बहरूपिया’हरू धोती, कुर्ता र गम्छा लगाएर जनतामाझ भ्रम फैलाइरहेको बताए।

ADVERTISEMENT

मधेसी दलहरू एकताबद्ध हुन थालेपछि यस्ता गतिविधिहरू सतहमा आएको उल्लेख गर्दै उनले भने, “मधेसी शक्तिहरू एक हुन थालेपछि नयाँ शक्तिको नाममा मधेसविरोधी गतिविधि तीव्र भएको छ।”

यादवले मधेसको हक, अधिकार र पहिचानका लागि संघर्षरत शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मधेसी जनतालाई सजग र सचेत रहन आग्रह गरे।

उनले संघीय सरकारले समयमै मधेस प्रदेशलाई अधिकार सम्पन्न स्वायत्त प्रदेशको रूपमा विकास नगरे गम्भीर असन्तोष सिर्जना भई विद्रोहको अवस्था समेत आउन सक्ने चेतावनी दिए।

अर्थमन्त्री यादवले मधेसको विकास, सुशासन र समावेशी राजनीतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको अधिकार स्थापित गर्न कुनै पनि हालतमा पछि नहट्ने बताए।

कार्यक्रममा जनकपुरधाम जेसीजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले संस्थाको वार्षिक प्रगति समीक्षा गर्दै आगामी कार्यदिशा तय गरेको जनाइएको छ।

समारोहमा वक्ताहरूले जनकपुरधाम जेसीजले युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सकारात्मक परिवर्तनका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

प्रकाशित मिति: २०८२ माघ ४, आईतवार १०:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !