शहीदनगरमा भ्रष्टाचारविरुद्ध युवा सडकमा उत्रिने चेतावनी

शहीदनगरमा भ्रष्टाचारविरुद्ध युवा सडकमा उत्रिने चेतावनी
मधेशपत्र मधेशपत्र २०८२ पुष १३, आईतवार १२:०३
शहीदनगरमा भ्रष्टाचारविरुद्ध युवा सडकमा उत्रिने चेतावनी

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका स्थानीय युवाहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको माग गर्दै संगठित आन्दोलनको चेतावनी दिएका छन्।

‘हामी युवा’ नामक संस्था गठन गरी युवाहरूले नगरपालिकामा देखिएको बेथिति र अनियमितताविरुद्ध अभियान चलाउँदै पुस २० गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले लामो समयदेखि उठाउँदै आएका मागहरू नगरपालिकाले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको बताएका छन्।

ADVERTISEMENT

युवाहरूका अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद तथा समग्र नगर विकाससँग सम्बन्धित विषय समेटेर यसअघि नै नगरप्रमुखसमक्ष २७ बुँदे माग प्रस्तुत गरिए पनि हालसम्म कुनै ठोस पहल भएको छैन। उनीहरूले २०८२ कात्तिक २३ गते नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। उक्त पत्रमार्फत नगरपालिकाको प्रशासनिक पारदर्शिता, आर्थिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न सुझाव तथा माग राखिएको थियो।

तर नगरप्रमुखले युवाहरूको मागलाई ‘हावादारी’ भन्दै गम्भीर रूपमा नलिएको आरोप उनीहरूको छ। पत्रकार सम्मेलनमा युवाहरूका तर्फबाट अरुण यादवले भने, ‘हामीले उठाएका माग व्यक्तिगत स्वार्थका लागि होइनन्, नगरको सुशासन र नागरिकको अधिकार सुनिश्चित गर्नका लागि हुन्।’ उनले नगरपालिकाले जनताको करबाट आउने बजेट र निर्णयहरू लुकाएर राख्न खोज्दा शंका बढेको भन्दै अब दबाबमूलक कार्यक्रम अपरिहार्य भएको बताए।

युवाहरूले नगरपालिकाको रेडबुक सार्वजनिक गर्नुपर्ने, नगर कार्यपालिकाका बैठकका निर्णयहरू नियमित रूपमा सार्वजनिक गर्नुपर्ने, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण नगरपालिकाको वेबसाइटमा राखिनुपर्ने माग गरेका छन्। साथै प्रत्येक वडामा नियमित सरसफाइको व्यवस्था गर्नुपर्ने, नगरभित्र रहेका शिक्षक दरबन्दी, विद्यार्थी संख्या लगायतका शैक्षिक तथ्यांक सार्वजनिक गर्नुपर्ने र सबै वडामा खेलकुद मैदान निर्माण गर्नुपर्ने उनीहरूको माग छ।

युवाहरूले आफ्ना मागहरू सुनुवाइ नभए चरणबद्ध रूपमा आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्।

प्रकाशित मिति: २०८२ पुष १३, आईतवार १२:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !