रौतहटमा बेमौसमी वर्षा र बाढीले किसानको सपना बगायो

रौतहटमा बेमौसमी वर्षा र बाढीले किसानको सपना बगायो
अभिमनु पटेल अभिमनु पटेल २०८२ कार्तिक १५, शनिबार १६:२९
रौतहटमा बेमौसमी वर्षा र बाढीले किसानको सपना बगायो

रौतहट : बेमौसमी वर्षा र बाढीका कारण रौतहटका किसानको महिनौँको मेहनत एकैछिनमा नष्ट भएको छ। घर भित्र्याउने तयारीमा रहेका पाकेका धानबाली खेतमै पानीमा डुबेर सड्ने अवस्थामा पुगेका छन्।

वर्षा सुरु हुनुअघि किसानहरूले दिनरात मेहनत गरी बिजुली मोटर चलाउँदै, महँगा बीउ, मल र श्रमिकको खर्च व्यहोरेर धानबाली लगाएका थिए। तर, भित्र्याउने बेलामै परेको अविरल वर्षा र बाढीले सारा मेहनत बेकामे बनाएको छ।

ADVERTISEMENT

किसानहरूका अनुसार देशमा सडक, भवन र सिँचाइ परियोजनाहरू विस्तार भइरहे पनि कृषि क्षेत्रप्रति राज्यको ध्यान पुग्न सकेको छैन। उनीहरू भन्छन्, “समयमै मल, बीउ र सिँचाइ सुविधा नपाएर पनि जसोतसो धान लगायौँ, तर अन्त्यमा पानीले सबै बगायो।”

यस वर्ष रौतहटमा मात्रै बिजुली मोटर चलाउँदा करेन्ट लागेर दर्जनौँ किसानले ज्यान गुमाएका छन्। यस्ता दुःखद घटनाको रोकथामका लागि सम्बन्धित निकायले अझै ठोस कदम चाल्न सकेको छैन।

रौतहटसँगै पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीसहितका तराई–मधेशका जिल्लाहरूमा पनि किसानको मेहनत बेमौसमी वर्षा र बाढीले बगाएको छ। हजारौँ बिगाहा खेतमा पाकेको धान नष्ट भएपछि किसानहरू अहिले असहाय र निराश बनेका छन्।

किसानहरूको पीडा शब्दमा झल्किन्छ — “हामी दिनरात खेतमा पसिना बगाउँछौँ, तर हाम्रो श्रमको मूल्य न सरकारले बुझ्छ न बजारले। वर्षा आयो, बाढी आयो, अनि हाम्रो सपना फेरि बग्यो।”

बेमौसमी वर्षा र प्राकृतिक प्रकोपको मारले यो वर्ष रौतहटका किसानका लागि दुःख, ऋण र निराशाको वर्ष बनेको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १५, शनिबार १६:२९
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !