वीरगञ्ज नाकाबाट दुई महिनामै २६ अर्बभन्दा बढीको पेट्रोलियम आयात

वीरगञ्ज नाकाबाट दुई महिनामै २६ अर्बभन्दा बढीको पेट्रोलियम आयात
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ७, मंगलवार १०:५०
वीरगञ्ज नाकाबाट दुई महिनामै २६ अर्बभन्दा बढीको पेट्रोलियम आयात

पर्सा : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार सो अवधिमा डिजेल, पेट्रोल, एलपी ग्यास (लिक्विफाइड पेट्रोलियम ग्यास), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो।

ADVERTISEMENT

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको दुई महिनामा एक अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। आयात बढेसँगै एक अर्ब २९ करोड रुपैयाँ बढी राजस्वसमेत संकलन भएको कार्यालयले जनाएको छ।

“यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात नै हो,” प्रमुख प्रशासक ज्ञवालीले भने। गत वर्षको दुई महिनामा पेट्रोलियम पदार्थबाट नौ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष सोही अवधिमा ११ अर्ब १८ करोड पुगेको छ।

दुई महिनामा मात्रै ११ अर्ब ९१ करोड रुपैयाँ मूल्यको एक लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात भएको छ। यसबाट पाँच अर्ब २८ करोड राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा १० अर्ब ४५ करोड रुपैयाँ बराबरको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड राजस्व संकलन भएको थियो।

त्यस्तै, चालु वर्षको दुई महिनामा छ अर्ब ८२ करोड रुपैयाँ बराबरको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा चार अर्ब ५४ करोड राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा छ अर्ब ४० करोड बराबरको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा तीन अर्ब ९९ करोड राजस्व आएको थियो।

एलपी ग्यासतर्फ, चालु वर्षको दुई महिनामा पाँच अर्ब १२ करोड रुपैयाँ बराबरको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो आयात हुँदा ९६ करोड राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा पाँच अर्ब ३६ करोड बराबरको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा एक अर्ब रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ७, मंगलवार १०:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !