फाल्गुन २१ निर्वाचनमा मात्र ध्यान केन्द्रित गर्न जनमत अध्यक्ष डा.राउतको आह्वान

फाल्गुन २१ निर्वाचनमा मात्र ध्यान केन्द्रित गर्न जनमत अध्यक्ष डा.राउतको आह्वान
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १, बुधबार २०:३०
फाल्गुन २१ निर्वाचनमा मात्र ध्यान केन्द्रित गर्न जनमत अध्यक्ष डा.राउतको आह्वान

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी फाल्गुन २१ गते हुने निर्वाचनसम्म पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अन्य गतिविधिमा ध्यान नभट्काउन आग्रह गरेका छन्।

उनले पार्टीभित्र विभिन्न बहस, छलफल र अन्य विषयमा उल्झेर ऊर्जा खेर नफाल्न भन्दै निर्वाचनलाई नै मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन्। राउतले भने, “फाल्गुन २१ गते हाम्रो लागि महाभारत हो, अग्निपरीक्षा हो। यो चुनावमा जनमतलाई नं. १ विजयी पार्टी बनाउनुपर्छ।”

ADVERTISEMENT

निर्वाचन आयोगले मिति घोषणा गरिसकेको र राजनीतिक दलहरू तयारीमा जुटिसकेको अवस्थामा जनमतसँग मात्र साढे पाँच महिना समय रहेको उल्लेख गर्दै उनले समयको सदुपयोग गर्न अपिल गरेका छन्। पार्टी दर्ता, समानुपातिक सूची बुझाउने प्रक्रिया नजिकिँदै गर्दा अन्य विवाद र छलफलमा लाग्नु षड्यन्त्र मात्रै भएको उनको आरोप छ।

अध्यक्ष राउतले चुनावी तयारीलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउन, बूथ समिति र युवा दस्ता गठन गर्न, प्रशिक्षण दिन र परिचालनमा जुट्न निर्देशन दिएका छन्। उनले “नौलो गणतन्त्र नै आगामी निकास हो” भन्ने नारासहित प्रचार अभियान तीव्र बनाउनुपर्ने बताए।

उनले थपे, “निर्वाचनपछि सबै विषयमा छलफल र बहस हुनेछ। तर अहिले प्राथमिकता भनेको मधेशलाई कब्जा गरेर देशकै निर्णायक शक्ति बन्ने तयारी हो। त्यही हाम्रो विजय हुनेछ।”

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार २०:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !