जनमत पार्टी स्वच्छ बनाउन सहयोग गर्नुस् : सीके राउत

जनमत पार्टी स्वच्छ बनाउन सहयोग गर्नुस् : सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १, बुधबार १९:५६
जनमत पार्टी स्वच्छ बनाउन सहयोग गर्नुस् : सीके राउत

काठमाडौंः जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टी छोड्न चाहनेका लागि अहिले नै सही अवसर रहेको बताएका छन्।

छ नेताले राउतलाई अध्यक्ष पदबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएपछि डा.राउले बुधबार फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘यही सही मौका हो, जनमत पार्टी छोड्नलाई। मौकाको सदुपयोग गर्नुहोस्।’

ADVERTISEMENT

राउतले पार्टीभित्र असहज महसुस गर्ने, अनुशासनमा बस्न नसक्ने वा नयाँ बाटो रोज्न चाहनेले अहिले नै स्पष्ट निर्णय लिनुपर्ने बताएका छन्। ‘यदि कसैलाई पार्टीमा उकुसमुकुस लागेको छ, एउटै पार्टीमा बस्दा वाक्क लागेको छ वा भित्रभित्रै पार्टीलाई खोक्रो बनाउन बाध्य हुनु भएको छ भने अबभन्दा राम्रो मौका आउँदैन,’ उनले लेखेका छन्, ‘जेनजी आन्दोलन छ, युवाहरूको रापताप छ, अहिले कुनै बहाना पनि चाहिँदैन।’

उनले पार्टीलाई स्वच्छ, वफादार, इमान्दार र क्रियाशील सदस्यहरूको संगठन बनाउन सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। ‘पार्टी छोड्ने साथीप्रति कुनै गुनासो हुने छैन, बरु तपाईँहरूको योगदानको सदैव कदर गरिनेछ,’ राउतको भनाइ छ।

जनमत पार्टी नेतृत्वविरुद्ध पछिल्लो समय देखिएको असन्तुष्टिका कारण अध्यक्ष राउतलाई राजीनामा दिन माग गरिएको हो। असन्तुष्ट नेताहरूले कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको कमी र जनभावनाविपरीत गतिविधिले पार्टीलाई कमजोर पारेको आरोप लगाएका छन्।

यसै सन्दर्भमा पार्टीका उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमलगायत नेताले अध्यक्ष राउतको राजीनामा माग गरेका हुन्।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार १९:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !