जनमत पार्टीमा ठूलो हलचल : अध्यक्ष र संगठन विभाग प्रमुखलाई २४ घण्टाभित्र राजीनामाको माग

जनमत पार्टीमा ठूलो हलचल : अध्यक्ष र संगठन विभाग प्रमुखलाई २४ घण्टाभित्र राजीनामाको माग
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १, बुधबार १७:०८
जनमत पार्टीमा ठूलो हलचल : अध्यक्ष र संगठन विभाग प्रमुखलाई २४ घण्टाभित्र राजीनामाको माग

काठमाडौं : हालै देशव्यापी रूपमा उग्रिएको “जेन–जी” आन्दोलनले देखाएको प्रभाव र त्यसले उठाएको राजनीतिक प्रश्नले जनमत पार्टीभित्र पनि नेतृत्व परिवर्तनको बहस चर्किएको छ।

बुधबार पार्टीका वरिष्ठ पदाधिकारीहरूले अध्यक्ष डा. चन्द्रकान्त (सी.के.) राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन औपचारिक आग्रह गरेका छन्।

ADVERTISEMENT

वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहितका ६ जना केन्द्रीय तथा प्रदेश स्तरका पदाधिकारीहरूले अध्यक्षलाई सम्बोधन गर्दै पठाइएको पत्रमा हालको नेतृत्वले पार्टीलाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन असफल भएको उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, “पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको स्पष्ट देखिन्छ।”

युवा पुस्ताले २०८२ भदौ २३ र २४ गते सञ्चालन गरेको आन्दोलनले भ्रष्टाचार, परिवारवाद, नातावाद र कुशासनविरुद्ध देशव्यापी उठान ल्याएको भन्दै पत्रमा जनमत पार्टीले पनि आत्मसमीक्षा गर्दै परिवर्तनको बाटो समात्नुपर्ने उल्लेख गरिएको छ।

नेतृत्व परिवर्तनको माग गर्ने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक डा.सीके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बम छन्।

यी पदाधिकारीहरूले “पार्टीलाई थप सशक्त, लोकतान्त्रिक र जवाफदेही बनाउन सबै कार्यकर्ता एकजुट हुने” प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।

यसअघि जनमत पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिन जनताले गरेको योगदानलाई स्मरण गर्दै पत्रमा पार्टी निर्माणदेखि योगदान पुर्‍याउने सबै नेताकर्मीलाई पुनर्गठन र सुदृढीकरणको अभियानमा सक्रिय हुन आह्वान गरिएको छ।

प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार १७:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !