मधेशमा सार्वजनिक सम्पत्ति नष्टपछि इन्सेक–मानव अधिकार आयोगद्वारा स्थलगत अध्ययन

मधेशमा सार्वजनिक सम्पत्ति नष्टपछि इन्सेक–मानव अधिकार आयोगद्वारा स्थलगत अध्ययन
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३१, मंगलवार १९:५०
मधेशमा सार्वजनिक सम्पत्ति नष्टपछि इन्सेक–मानव अधिकार आयोगद्वारा स्थलगत अध्ययन

जनकपुरधाम : जेनजी आन्दोलनका क्रममा धनुषा लगायतका क्षेत्रमा भएका आगजनी तथा तोडफोड घटनाको अनुगमन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले संयुक्त रूपमा गरेको छ।

भदौ २७ गते भएको अनुगमनमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्ध नारायण साहनी, इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादव लगायतका मानव अधिकारकर्मी सहभागी थिए। टोलीले भन्सार कार्यालय जनकपुर, सशस्त्र प्रहरी चौकी रेल्वे स्टेशन, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय धनुषा, कर कार्यालय, कृषि तथा सहकारी मन्त्रालय र मधेस प्रदेश सभा भवनमा पुगेर क्षतिको विवरण संकलन गरेको थियो।

ADVERTISEMENT

भन्सार कार्यालय जनकपुरका प्रमुख मानबहादुर पौडेलका अनुसार भदौ २४ गते दिउँसो ३ बजेतिर प्रदर्शनकारीले कार्यालयमा आगजनी र तोडफोड गर्दै सम्पूर्ण सामग्री नष्ट गरेका थिए। तीन ट्रक, तीन नयाँ कार, करिब २० वटा चारपांग्रे गाडी, ३०० मोटरसाइकल, १२ कम्प्युटर सेट, २० अटो रिक्षा लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको उनले बताए।

भन्सार कार्यालय नजिकैको सशस्त्र प्रहरी चौकीमा समेत आगजनी गरिएको थियो। प्रहरी सहायक हवल्दार सुजित कुमार यादवका अनुसार प्रहरी सहायक निरीक्षक जितेन्द्र नारायण मण्डलको कमाण्डमा सात जना मात्र सुरक्षकर्मी रहेकाले ठूलो संख्यामा आएका प्रदर्शनकारीलाई नियन्त्रण गर्न नसकिएको थियो। आगजनीमा दुई जिप र चार मोटरसाइकल जलेका छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाको राष्ट्रिय परिचयपत्र शाखा र पासपोर्ट शाखामा समेत आगजनी भएको छ। खरिदार अनिल कुमार मण्डलका अनुसार कम्प्युटर, झ्यालका सिसा र कागजातमा क्षति पुगेको छ।

त्यस्तै, कर कार्यालय जनकपुरमा पनि ठूलो क्षति भएको छ। कार्यालयका चालक श्रवण राजवंशीका अनुसार भदौ २४ गते साँझ ६ बजे प्रदर्शनकारीले कार्यालयमा रहेका ज १ झ ३७६ नम्बरको पिकअप, ज १ झ ४०५ नम्बरको स्कारपियो, पाँच मोटरसाइकलमा आगजनी गरेका थिए। साथै राजस्व संकलन शाखा र फाइल भण्डार शाखा समेत जलेर नष्ट भएका छन्।

मधेस प्रदेश सभामा प्रदर्शनकारीले दिउँसो २ बजेतिर तोडफोड गर्दै भवनभित्रका सम्पूर्ण सामग्री जलाएका थिए।

त्यसैगरी कृषि तथा सहकारी मन्त्रालय, मुरलीचोक जनकपुरमा सयौँको संख्यामा प्रदर्शनकारी प्रवेश गरी तीन चारपांग्रे गाडी र सात मोटरसाइकलमा आगजनी गरेका थिए।

जनकपुरधाम उपमहानगरपालिकामा भएको आगजनीबाट दुई बारुण यन्त्र, एक एम्बुलेन्स, दुई ट्रक र एक भ्यान जलेका छन्। करिब २०० ग्याँस सिलिण्डर विस्फोट हुँदा भवन क्षतविक्षत भएको छ। न्यायिक समितिका कानुनी सल्लाहकार मन्सुर राइनका अनुसार कार्यालयभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

इन्सेक र मानव अधिकार आयोगले अनुगमनपछि जारी गरेको संक्षिप्त टिप्पणीमा सार्वजनिक सम्पत्ति र सरकारी संरचनामाथि भएको यस किसिमको तोडफोड र आगजनी गम्भीर मानव अधिकार उल्लंघन भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ३१, मंगलवार १९:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !