ओलीको मन्त्रिपरिषद् पुनर्गठन असफल, मन्त्री यादव दिल्लीतिर

ओलीको मन्त्रिपरिषद् पुनर्गठन असफल, मन्त्री यादव दिल्लीतिर
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १९:३६
ओलीको मन्त्रिपरिषद् पुनर्गठन असफल, मन्त्री यादव दिल्लीतिर

काठमाडौं : सरकार गठन भएको एक वर्ष पूरा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रयास थालेका थिए। तर, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना मन्त्री फेर्न तयार नभएपछि प्रधानमन्त्रीको योजना सफल हुन सकेन।

प्रधानमन्त्री ओलीले कांग्रेसका साथै एमाले र सत्तासाझेदार दल जसपा नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मन्त्रीहरूलाई समेत परिवर्तन गरेर नयाँ टिम बनाउन खोजेका थिए। तर सोमबार (हिजो) जसपा र लोसपाका तीन मन्त्रीलाई फेर्ने योजना तत्कालका लागि रोकिएको छ।

ADVERTISEMENT

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले लोसपाबाट सरकारमा सहभागी मन्त्री शरतसिंह भण्डारीलाई बालुवाटार बोलाए पनि उनले प्रधानमन्त्रीसँग भेट नगरी फर्किएका थिए। त्यस्तै, जसपाका मन्त्री प्रदीप यादव र नवलकिशोर साह सुडीलाई समेत राजीनामा गराउने तयारी थियो। यस विषयमा प्रधानमन्त्रीले जसपा अध्यक्ष अशोक राईसँग छलफलसमेत गरेका थिए।

तर खानेपानी मन्त्री प्रदीप यादवले आफूसहित तीन मन्त्रीलाई हटाउने तयारी भइरहेको जानकारी पाएपछि ‘विरामी’ परेको बहाना गर्दै दिल्ली प्रस्थान गरेका छन्। उनले यसअघि पनि प्रधानमन्त्री ओलीलाई भारत भ्रमण सम्पन्न नहुँदासम्म आफूलाई मन्त्री पदबाट नहटाउन आग्रह गरेका थिए।

भारतीय विदेश सचिवको नेपाल भ्रमणकै दिन दिल्ली गएका यादवले भारतीय पक्षमार्फत प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरी तत्काल मन्त्री पद जोगाउने रणनीति अपनाएको बताइन्छ। उनी दिल्ली प्रस्थान गरेसँगै अन्य दुई मन्त्री भण्डारी र सुडीको पद पनि तत्कालका लागि सुरक्षित भएको स्रोतको दाबी छ।

यसरी, मन्त्री यादवको अप्रत्याशित कदमका कारण प्रधानमन्त्री ओलीको सोमबारको पुनर्गठन योजना असफल बनेको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १९:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !