सर्लाहीमा रामपुकार यादव हत्या प्रकरण : मुख्य आरोपी धिरेन्द्र राय पक्राउ

सर्लाहीमा रामपुकार यादव हत्या प्रकरण : मुख्य आरोपी धिरेन्द्र राय पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १०:२७
सर्लाहीमा रामपुकार यादव हत्या प्रकरण : मुख्य आरोपी धिरेन्द्र राय पक्राउ

सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका–५ निवासी ४० वर्षीय रामपुकार यादवको हत्या प्रकरणमा संलग्न आरोपी धिरेन्द्र राय यादव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति रामपुकार यादव आफ्नै घरअगाडिको आँगनमा बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडि बसेको युवकले पेस्तोल प्रहार गरेको थियो। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि महोत्तरीस्थित जानकी हेल्थ केयर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

ADVERTISEMENT

घटनापछिको भागदौडमा धिरेन्द्र सवार मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएको उनलाई उपचारपछि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो। मोटरसाइकल चालक अर्का व्यक्ति भने फरार रहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनास्थल तथा धिरेन्द्र बसोबास गर्दै आएको मलंगवा–९ स्थित डेराबाट नलकटुवा पेस्तोल र गोलीको खोका बरामद गरेको जनाएको छ। जिल्ला अदालत सर्लाहीले घटनाबारे थप अनुसन्धानका लागि उनलाई सात दिन म्याद थप अनुमति दिएको छ।

धिरेन्द्र यसअघि पनि घातक अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ। २०८१ असोज १० गते राति उनले आफ्नै घरमा श्रीमती चित्रलेखा कुमारी यादवलाई पेस्तोल प्रहार गरी हत्या गरेका थिए। सोही घटनामा उनका बुबा राम दिनेश राय घाइते भएका थिए। त्यस घटनापछि उनी फरार रहेका थिए।

धिरेन्द्रविरुद्ध कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १०:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !