भैरहवाबाट ठुलो परिमाणमा नेपाल र भारतका विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रसहित भारतीय युवक पक्राउ

भैरहवाबाट ठुलो परिमाणमा नेपाल र भारतका विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रसहित भारतीय युवक पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार ०९:५८
भैरहवाबाट ठुलो परिमाणमा नेपाल र भारतका विश्वविद्यालयका शैक्षिक प्रमाणपत्रसहित भारतीय युवक पक्राउ

रुपन्देही : रुपन्देहीको बेलहिया नाकबाट नक्कली शैक्षिक प्रमाणपत्रको समेत तस्करी हुने गरेको खुलेको छ। प्रहरीले आइतबार भैरहवाबाट ठुलो परिमाणमा भारत तथा नेपालका शैक्षिक संस्था तथा विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्राम, स्ट्याम्प लगायतका कागजातसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया बसपार्क नजिकैबाट प्रहरीले भारतको उत्तर प्रदेश कानपुर नौवस्तिका २५ वर्षीय अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

केही समय यता रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्रको कारोबार हुने गरेको चर्चा चलेसंगै प्रहरीले निगरानी बढाएको थियो। हातमा सुटकेस र झोला बोकेर आइतार साँझ ६ बजेतिरको समयमा भारतको सिमावर्ती बजार सुनौलीबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेका यादवलाइ इलाका प्रहरी कार्यालय बेलहिया र जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो।

बेलहियाकै मुक्तिनाथ होटलमा प्रवेश गर्न खोजेका यादवको साथबाट प्रहरीले ठुलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, होलोग्राम, स्टिकर लगायतका सामान बरामद गर्यो।

यादवको साथबाट भारत उत्तर प्रदेशको एमिटी युनिभर्सिटी, जवाहरलाल नेहेरु टेक्नोलोजिकल युनिभर्सिटी हैदरावाद, छत्रपति साहुजी महाराज युनिभर्सिटी कानपुर, असम हाइर सकेण्डरी एजुकेशन काउन्सिल, आन्ध्र युनिभर्सिटी, कुरुक्षेत्र विश्वविद्यालय, लगायतका भारतीय शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र, मार्कसिट,प्रोभिजनल प्रमाणपत्र, क्यारेक्टर सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेटसहितका हजारौं कागजातहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए। भारतीय शैक्षिक संस्थाका १ हजार २ सय बढी नक्कली शैक्षिक प्रमाणपत्र, लेटरप्याड, एडमिट फर्म लगायतका कागजात प्रहरीले यादवको साथबाट बरामद गरेको हो।

यादवको साथबाट आयुर्वेदिक तथा युनानी तिब्बी चिकित्सा पद्धति बोर्ड उत्तर प्रदेश,डा. अखिलेख कुमार बर्मा रजिष्टर आयुर्वेदिक तथा युनानी तिब्बी चिकित्सा पद्धति बोर्ड उत्तर प्रदेश लगायत अन्य कार्यालयको नाम लेखिएका दर्जनौं नक्कली छाप समेत बरामद भएको छ। कुनै अंक र अक्षर नभएका स्ट्याम्पहरू समेत फेला परेको छ।

ती भारतीय युवाको साथबाट भारतीय शैक्षिक संस्थाका मात्रै नभइ नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र तथा कागजात समेत बरामद भएको छ। डिएसपी कार्कीका अनुसार यादवको साथबाट त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र ३६ थान, ट्रान्सक्रिप्ट एक सय थान, स्ट्याम्प ३ थान,स्ट्याम्प प्याड ५ थान बरामद भएको छ।

त्रिभुवन विश्वविद्यालय–२०१२ लेखेको २१ बण्डल होलोग्राम (४ हजार ४० थान), उच्च माध्यामिक शिक्षा परिषदको होलोग्राम २ हजार थान (१९ वटा प्याकेट) बरामद भएको छ। त्यस्तै राष्ट्रिय परिक्षा बोर्ड होलोग्राम १ हजार ७ सय थान (१७ प्याकेट),सीटीईभीटी लेखेको होलोग्राम १ हजार ९ सय थान बरामद भएको डिएसपी कार्कीले जानकारी दिए। प्रहरीले यादवको साथबाटचार वटा पेन ड्राइभ, तीनवटा एटीएम कार्ड,१८ हजार ५ सय भारतीय र तीन हजार नेपाली रुपैयाँ समेत बरामद गरेको छ।

यादवलाई प्रहरीले आइतबार साँझ पख बेलहिया नाकाबाट नेपाल प्रवेश गरेर मुक्तिनाथ होटल जाने क्रममा नियन्त्रणमा लिएर छानबिन गरेको थियो। घटनाबारे प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले घटनामा संलग्न मुख्य नाइकेहरूको खोजी सुरु भइसकेको र को–कसको संलग्नता छ भन्ने सम्बन्धमा थप अनुसन्धानबाटै खुल्ने बताए। नक्कली शैक्षिक प्रमाणपत्र र कागजात संगै बरामद भएको ल्यापटप, पेनड्राइभ र मोबाइल डिजिटल फरेन्सिकल्यावमा पठाउने र त्यसपछि धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार ०९:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !