धनुषामा बोक्सीको आरोपमा महिला कुटपिट, राजनीतिक दबाबमा अनुसन्धान लम्बिएको आरोप

धनुषामा बोक्सीको आरोपमा महिला कुटपिट, राजनीतिक दबाबमा अनुसन्धान लम्बिएको आरोप
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३१, शनिबार १८:१७
धनुषामा बोक्सीको आरोपमा महिला कुटपिट, राजनीतिक दबाबमा अनुसन्धान लम्बिएको आरोप

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–६ बेरियामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको घटना बाहिर आएको छ। स्थानीय जोगी यादव र राजा यादवले गत सोमबार ४० वर्षीया सनेचरी देवी मण्डलमाथि कुटपिट गरेको पीडित पक्षको दाबी छ।

कुटपिटबाट गम्भीर घाइते भएकी मण्डललाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। चिकित्सकका अनुसार उनको शरीरका विभिन्न भागमा निलडाम तथा चोटपटक लागेको छ।

ADVERTISEMENT

मण्डलले २७ साउनमा इलाका प्रहरी कार्यालय फुलगामामा जाहेरी दिएकी थिइन्। तर पाँच दिन बितिसक्दा पनि प्रहरीले कुनै प्रतिवादीलाई पक्राउ नगरेको भन्दै उनले असन्तुष्टि जनाइन्।

“मेरो भैँसीलाई दूध नदिएको बहानामा मलाई बोक्सी भन्दै कुटपिट गरे। प्रहरीलाई उजुरी दिएकी छु तर स्थानीय नेताको दबाबका कारण कारबाही रोकिएको छ,” पीडित मण्डलले मधेशपत्रसँग भनिन्।

घटनापछि गाउँमा त्रासको वातावरण छाएको स्थानीयले बताएका छन्। आरोपितहरू खुलेआम हिँडिरहेका र पीडित परिवारलाई धम्की दिइरहेकोसमेत उनीहरूको आरोप छ। यसअघि पनि गाउँमा महिलामाथि यस्तै घटनाहरू भएको एक स्थानीयले बताए।

तर, इलाका प्रहरी कार्यालय फुलगामाका एक अधिकारीले भने घटना ‘बोक्सीको आरोप’ नभई ‘पानीको विवाद’का कारण भएको दाबी गरे। “दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाइएको छ,” अधिकारीले प्रतिक्रिया दिए।

यद्यपि, स्थानीय स्रोतले राजनीतिक दबाबका कारण अनुसन्धानमा ढिलाइ भइरहेको बताएका छन्।

मानव अधिकारकर्मीहरूले घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले यस्ता घटनाले समाजमा दण्डहीनताको संस्कार बढाउने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण ३१, शनिबार १८:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !