सिरहाका स्व.हरि मोहन मुखियाको खेत फिर्ता, ऋणसमेत तिर्ने

सिरहाका स्व.हरि मोहन मुखियाको खेत फिर्ता, ऋणसमेत तिर्ने
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २६, सोमबार ०७:३०
सिरहाका स्व.हरि मोहन मुखियाको खेत फिर्ता, ऋणसमेत तिर्ने

सिरहा : सिरहा लहान नगरपालिका–२३ गाढा गाउँका ३५ वर्षीय हरि मोहन मुखियाको शव काठमाडौं मेडिकल कलेज (केएमसी) मा बन्धक परेको थियो। उपचारका क्रममा निधन भएका मुखियाको परिवारले अस्पताललाई करिब ११ लाख रुपैयाँ बुझाइसके पनि बाँकी २ लाख नतिरेसम्म शव नदिने अडान लिँदा परिवार शव लिन नसक्ने अवस्थामा पुगेको थियो।

विगत दुई महिना उपचाररत मुखियाको आर्थिक अवस्था कमजोर थियो। परिवारले ३ कठा खेत ४ लाख १० हजार रुपैयाँमा बिक्री गरेर र छिमेकी गाउँलेहरूसँग ऋण लिई उपचार खर्च जुटाएका थिए। तर, साउन २१ गते बिहान निधन भएपछि अस्पताल प्रशासनले बाँकी रकम माग्दै शव रोक्दा पीडित परिवार संकटमा पर्‍यो। मृतककी श्रीमतीले सक्दो सम्पत्ति बेचेर बुझाइसकेको भन्दै पटक–पटक अनुरोध गरे पनि अस्पतालले शव नदिएपछि काठमाडौंमा बसोबास गर्ने मधेसका शिव यादव, बबलु गुप्ता, रविराज साह, कपिल देव साहलगायत युवाहरूले पहल थाले।

ADVERTISEMENT

सहयोग अभियान र दबाब

युवाहरूले घटनाबारे बुझेसँगै सामाजिक सञ्जालमार्फत सहयोग अभियान सुरु गरे। विभिन्न राजनीतिक नेतासम्म पुगे पनि उनीहरूले सहयोग गर्नुको सट्टा उल्टै ‘बाँकी रकम तिर्नुपर्छ’ भन्ने प्रतिक्रिया आएको युवाहरूको गुनासो छ। त्यसपछि देश–विदेशमा रहेका दाताबाट रकम संकलन भयो। दबाब बढेपछि अस्पतालले अन्ततः निःशुल्क रूपमा शव छाड्ने निर्णय गर्‍यो।

एम्बुलेन्सको खर्चसमेत नभएका कारण ती युवाहरूले नै व्यवस्था मिलाएर शव लहानस्थित घर पुर्‍याए र हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरियो।

खेत फिर्ता, ऋण तिर्ने, हातखर्च पनि

मुखिया परिवारको जीविकोपार्जन गर्ने एक मात्र व्यक्ति हरि मोहन थिए। उनका दुई छोरा (११ र ५ वर्ष) र दुई छोरी (१३ र ८ वर्ष) अब अनाथ भएका छन्। सहयोगी युवाहरूले संकलित रकमबाट उपचारका क्रममा बिक्री भएको ३ कठा खेतको मूल्य बुझाई पुनः परिवारको नाममा गराइदिए।

त्यस्तै उपचार खर्चका लागि लिएको १ लाख ८० हजार रुपैयाँ ऋण पनि तिरियो। बाँकी २१ हजार २६५ रुपैयाँ मृतककी श्रीमतीलाई जिम्मा दिइयो। कुल ६ लाख ११ हजार २६५ रुपैयाँ बराबरको सहयोग व्यवस्थित रूपमा खर्च गरिएको युवाहरूले जनाएका छन्।

गाँवलेहरू भन्छन्, “यस्ता युवाहरूको पहलले समाजमा सकारात्मक सन्देश दिएको छ। सहानुभूति मात्र होइन, व्यवहारिक सहयोग पनि आवश्यक पर्छ भन्ने यो घटनाले देखाएको छ।” युवाहरू अझै थप सहयोग संकलनको अभियानमा छन्।

प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार ०७:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !