कैलाली कारागारमा झडप, एक जनाको मृत्यु, ४७ जना घाइते

कैलाली कारागारमा झडप, एक जनाको मृत्यु, ४७ जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २४, शनिबार ०९:५४
कैलाली कारागारमा झडप, एक जनाको मृत्यु, ४७ जना घाइते

धनगढी : कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जना कैदीबन्दीको मृत्यु भएको छ । अन्य ४७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको बताए । घाइते ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार राति कैदीबन्दीबीच झडप भएको बताइएको हो ।

ADVERTISEMENT

कारागारमा बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । २८ असारमा पनि कारागारमा कुटाकुटको अवस्था सिर्जना भएको थियो । कारागारका नाइके खगेन्द्र बोगटी कुटिएका थिए ।

नाइकेमाथि कुटपिट भएपछि कैदीबन्दीहरूले जेलर वसन्त खत्रीविरूद्व नाराबाजीसमेत गरेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

नाइकेमाथि कुटपिट हुनअघि २६ असारको राति सीडीओ गोगन हमाल नेतृत्वको टोलीले कारागार निरीक्षण गरेको थियो । सो क्रममा ब्लक ‘ए’मा रहेका कैदीबन्दीहरूसँग मोबाइल फेला परेको थियो ।

त्यसको भोलिपल्ट ब्लक ‘ए’मा रहेका सात जना कैदीबन्दीलाई ब्लक ‘बी’ मा सारिएको थियो ।

प्रकाशित मिति: २०८२ श्रावण २४, शनिबार ०९:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !